विराटनगर, १५असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त भएका छन् । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उनी पदमुक्त हुनुभएका हुन् ।
मुख्यमन्त्री कार्कीले आज पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ । सरकारलाई निरन्तरता दिन ४७ मत आवश्यक थियो ।
विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ । बैठकमा चार जना अनुपस्थित रहेका थिए । कोशी प्रदेशसभामा कायम रहेको ९३ सदस्यमध्ये पक्षमा नेकपा एमालेको ४० र राप्रपाको ६ मत परेको थियो ।
विपक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ), नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले मत दिएका थिए । मतदान प्रक्रियामा माओवादी केन्द्र र कांग्रेसका एक–एक जना सांसद अनुपस्थित भएको थियो । जनता समाजवादी पार्टीका सांसद भने आजको बैठकमै अनुपस्थित रहेका थिए।