दमक,१५ असार । नेपाली कांग्रेसले असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसर पारेर दमक ३ मा शोकमा रहेका एक परिवारको खेतमा धान रोपाईँ गरिदिएको छ । स्थानीय एक जग्गाधनी संग अधिया खेती गर्न जग्गा लिएका चन्द्रबहादुर विश्वकर्माको खेतमा सामूहिक धान रोपाई गरेको हो ।
कांग्रेसले धान रोपाईमा लागेको सम्पूर्ण लागत व्यहोर्दै रोपाइँमा सहभागिता जनाएको कांग्रेस दमक ३ का सभापति गोपाल गिरीले जानकारी दिए ।
उनका अनुसार बिश्वकर्माकी बुहारी कमलाको निधन भएको आइतवार छैठो दिनमा समवेदना दिन पुगेका कांग्रेस नेता तथा कार्यकर्ताहरुको टोलीले विश्वकर्माको ११ कठ्ठा खेत हिल्याएर रोपाईँ गरिदिएको हो ।
रोपाईमा कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्रीय सभापति रवि न्यौपाने, नगर उपसभापति युवराज खनालसहित नेता कार्यकर्ताहरुको समूह विश्वकर्माको घरमा पुगी समवेदना प्रकट गर्दै रोपाइँमा सघाँउ पुर्याएका हुन् । त्यहाँ खेत हिल्याएर रोपाईँ सम्पन्न गर्न लाग्ने खेतालाको पारिश्रमिक बापतको रकम समेत तिरेर विश्वकर्मा परिवारलाई सघाँउ पुर्याएका बताईएको छ ।