
दमक,१५ असार । दमकबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह- ५ का विवेक लिम्बु, सौरभ राई र चुलाचुली- ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्रहरीले जनाएको छ ।
सोमबार इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक -६ थाना रोडमा शंकास्पद अवस्थामा हिडिरहेका २६ बर्षीय विवेक र २२ बर्षीय सौरभलाई खानतलासी गर्दा लागुपदार्थ जस्तो देखिने लेसाइलो बस्तु प्लास्टिक बाहेक २ ग्राम फेला पारेको थियो ।
उनीहरुलाई सोधपुछको क्रममा आफुहरुले उक्त ब्राउन सुगर चुलाचुली -४ घर भई हाल दमक- ५ बस्ने ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स भनिने खगेन्द्र सावाँ लिम्बुबाट खरिद गरेको भन्ने बयानको आधारमा निजहरुको कोठा खानतलासी गर्दा ५ लाख १४ हजार ३०० नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
प्रहरीले चुलाचुलीस्थित बिक्रमको घरबाट ५ ग्राम र खगेन्द्रको घरबाट २.३ ग्राम लागुपदार्थ समेत गरि ९.३ ग्राम लागुपदार्थ र ३ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।