दमक,१४ असार । झापाको कमल गाउँपालिका वडा न. ५ स्थित चाँजु खोलामा आएको बाढीसंगै कटान तीव्र बनाएको छ । गएराति देखि परेको भारी बर्षाका कारण खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधा दर्जन घर कटानको उच्च जोखिममा परेको छ ।
वडाध्यक्ष लालबहादुर बिष्टका अनुसार गएरातीको भारी बर्षाका कारण स्थानीयले पालन सुँगुरका दुई वटा खोर बगाएको छ भने खोला आसपासका आधा दर्जन घरका परिवारलाई अन्यन्त्र सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ । रातीदेखिको पानीले यहाँको अवस्था निक्कै जटिल बनाएको भन्दै उनले ६, ७ घरको नजिकै खोलाको कटानले विस्थापित हुने खतरा बढेको बताए । खोलामा आएको बाढीले त्यहाँ बनाईएको अस्थायी तटबन्धन भत्काएका कारण खोला बस्ती छिर्ने खतरा भएको उनले बताए ।
लगातार बर्षा संगै चाँजु खोलामा कटानका कारण कमलका १, २ , ५ ,६ र ७ का बस्तीमा डुबान र कटानले जोखिममा परेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपानेसहित वडाका जनप्रतिनिधिहरुको टोली पुगेको छ । प्राविधिकहरुसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परि आउन सक्ने विपद व्यवस्थापनको पूर्व तयारीका बिषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।