दमक ,१४ असार । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर शाखालाई दमक १ की दाता निर्मला देवानले करिव रु ५० लाख मूल्य पर्ने पाँच कठ्ठा जमीन निशुल्क दान दिएकी छन् ।
चुम्लुङ दमक नगर शाखाको भवन निर्माणका लागि दाता देवानसहित परिवारले दमक- १ रवि स्टेण्ड बस्तीमा ५ कठठन जमीन दान दिएका हुन्। लामोसमयदेखि संरक्षण गरिआएको जमीन संस्थागत हितमा सहयोग पुगोस भन्ने दाता परिवारले उक्त जग्गा दान दिएको चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले बताए । चुम्लुङको आफनै कार्यालय भवन नहुदाँ दमकको किरात रायलि भवनको एक कोठामा कार्यसञ्चालन हुदैआएको थियो । संस्थाको कार्यालय कोठा पर्याप्त नहुदाँ दैनिक कार्यसञ्चालनमा समस्या हुदैआएको थियो ।
चुम्लुङ दमक नगर शाखाका सचिव चन्द्रबहादुर कन्दङवाले अव भने संस्था सञ्चालनका लागि कार्यालय भवन बनाउन पहल थालिने जानकारी दिए । दान दिएको जमीनमा चुम्लुङले आफनो कार्यालय भवन निर्माण गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
उनका अनुसार दाता परिवारबाट प्राप्त जमीनमा पहिलो चरणमा घेरावेरा गरि लिम्बूजन्य सवै खाले सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिहरु सञ्चालन गरिने छ ।
यसैवीच ,दातासहितका परिवार र चुम्लुङ दमकका सरोकारपक्षहरुवीच त्यस सम्बन्धी संझौता समेत गरिएको छ । जग्गा दान र जग्गाको स्वामित्व सम्बन्धी कागजातमा दुवै पक्षका प्रतिनिधिसहितका सरोकारवालाहरुले त्यस सम्बन्धी कागजातमा हस्तक्षार गरेको सचिव कन्दङवाले बताए ।