एसईईको नतिजा : झापाबाट ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण

झापा,१३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी मध्ये झापाबाट ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी विद्यार्थी मध्ये ७ हजार ३ सय २५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । यो वर्ष (एसईई) परीक्षामा झापाबाट कुल १५ हजार ४ सय ६२ जना परीक्षर्थी सहभागी थिए । जसमध्ये ८ हजार १ सय ३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् ।
दुई विषयमा अनुत्तीर्ण परीक्षार्थी समेत नन ग्रेडिङमा गणना गर्दा ८ हजार १३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएका उनीहरुले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।
झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १०३ जना र २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेका छन् ।

१८६ जनाले ४ जीपीए ल्याए

सार्वजनिक गरेको नतिजा अनुसार माध्यामिक शिक्षा परीक्षा (एसईई)को  परीक्षामा  कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी )ल्याएका छन् ।
बोर्डले बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर केही प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय सारेको हो ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।
सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

Leave a Reply

Your email address will not be published.