-छवि ज्ञवाली
प्रायः साहित्यिक विधाका विभिन्न कृतिहरू अध्ययनमा घुम्ने मेरो रुचि यसपटक अलि फरक पुस्तकमा लाग्यो । झापा जिल्ला दमकका डा. लेखनाथ न्यौपानेद्वारा लिखित ‘मेरो देश’ नामक पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानमा विमोचन (जेठ–२०, शनिबार) भएको हो । यस पुस्तकका लेखक होमियोप्याथिक चिकित्सक हुनुहुन्छ । लेखकको परिचय विवरणमा उल्लेख गरिए अनुसार उहाँको जन्म पिता छविराम न्यौपाने र माता महेश्वरा न्यौपानेका कान्छ सन्तानका रूपमा इलाम जिल्लाको तत्कालीन लुम्दे गाविसमा वि.सं.२०२७ साउन ९ गते भएको हो ।
भारतको मुम्बईबाट बि.एच.एम.एस उत्तीर्ण तथा इलामको नाङरुङस्थित महेन्द्रोदय मावि लगायतमा अध्यापन कार्यसमेतको अनुभव हासिल गर्नुभभएका उहाँ हाल झापा दमकमा रीता होमियो क्लिनिक सेन्टर सञ्चालनरत हुनुहुन्छ । जनस्वास्थ्य, साहित्य, पर्यटन, समाज, इतिहास, जडिबुटी आदि क्षेत्रका सयौं लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । प्रस्तुत मेरो देश पुस्तक प्रकाशित हुनुअघि नै उहाँका सरल होमियोप्याथिक चिकित्सा प्रणाली, स्वस्थ कसरी रहने (लेखसङ्ग्रह), छोरा (उपन्सास), हराएका अनुहार (कथासङ्ग्रह) आदि कृति प्रकाशित भएका छन् । लेखकबाट भविष्यमा थप पुस्तकहरू प्रकाशित हुनेछन् भन्ने अपेक्षा छँदै छ ।
पुस्तकका लेखक डा. न्यौपानेको लेखकीयअनुसार “प्रस्तुत पुस्तकको सामग्री सङ्कलन र लेखन सुरु भएको १२ वर्ष पूरा भएको छ । यसबिचमा कतिपय स्थान र धरोहरहरूको पुनः निर्माण पनि सम्पन्न भइसकेको छ । पिछडिएका ठाउँहरूको विकासले तीव्रता पाएको छ । देश पुुनः संरचनामा जाँदा स्थान र गाउँका नाम परिवर्तन भएका छन् । गाविसहरू गाउँपालिकामा र नगरपालिकामा परिणत भएका छन् । यो परिवर्तित अवस्थामा पनि सकेसम्म प्रामाणिक तथ्यहरू मात्र समावेश गर्न सक्दो कोसिस गरिएको छ ।”
मेरो देशबारे थोरै कुरा :
प्रस्तुत पुस्तक ‘मेरो देश’ (प्रथम, २०८०) भुँडीपुराण प्रकाशन काठमाडौंले प्रकाशन गरेको हो । पुस्तक लेखकीय, प्रकाशकीय र विषयसूचीका विवरणबाहेक सन्दर्भ सामग्रीसहित ६८१ पृष्ठमा फैलिएको छ । पुस्तकको मूल्य रु. १००० उल्लेख छ, त्यो उचितै मान्नुपर्छ । पुस्तक दुई खण्डमा बाँडिएको छ ।
खण्ड : १ पृष्ठ १ देखि २६६ सम्म छ । यसमा नेपालको परिचय छ । क्रमशः नेपालको उत्पत्ति र नामकरण, नेपालको भूगोल र संवैधानिक विभाजन, नेपालको भौगोलिक अवस्थिति आदि छन् । नेपालको गौरवमय इतिहासअन्तर्गत खस तथा बाइसी–चौबिसी राज्य, लिम्बुवान राज्यको उत्पत्ति र अर्थ, नेपाल र नेपालीले पाएका विभिन्न सफलता, नेपालका सुखद पक्षहरू, नेपालमा पाइने चरा, विश्व कीर्तिमान (गिनिज वल्र्ड रेकर्डस्), नेपालका जातजाति र भाषा, जातजाति, भाषा र साक्षरता यसअन्तर्गत १० भाषा, साक्षरता, जातजाति-मात्रृभाषा छन् । नेपालमा जनगणनाअन्तर्गत यसको सङ्क्षिप्त इतिहास वि.सं.१९६८ देखि २०७८ को धेरैजसो विवरण, प्रदेशगत जनसङ्ख्या विवरण आदि छन् । त्यस्तै नेपालमा चलेका संवतहरू, सांस्कृतिक प्रतीकहरू, राष्ट्रिय भन्डा, नेपालमा प्रचलित लिपिहरू, नेपालमा मुद्राको इतिहास, राजपत्र, अभिलेख, वंशावली, मुलुकी ऐन, नेपालमा हालसम्म जारी भएका संविधान, नेपालमा बिजुलीको इतिहास, नेपाली भाषा र साहित्यको इतिहास, नेपालमा प्रेस र पुस्तक लेखनको इतिहास, नेपाली चलचित्रको उद्भव र विकास, दासप्रथा र सतीप्रथा उन्मूलनसँग जोडिएको उपत्यकाको टुँडिखेल, उपत्यकामा तारे होटलको सुरुवात, उपत्यकामा ढुङ्गेधाराको इतिहास, काठमाडौं उपत्यकामा अग्निशाला, नेपालमा औद्योगिक विकासको आरम्भ, नेपालको इतिहासमा भेटिएका प्रमाण र घटेका घटनाक्रम (यिनलाई यहाँ बुँदागत ढङ्गले प्रस्तुत गरिएको छ ।), नेपालमा कसले के बनाए, कसले के चलाए (यो पनि बुँदागत छ), नेपालमा कुन ठाउँमा के पाइन्छ ? (बुँदागत रूपमा), नेपालका मुख्य नदीका उद्गमस्थल, नेपालका इतिहासमा अन्तिम राजाहरू, राणाशासन अगाडि नेपालका मुख्तियार (प्रधानमन्त्रीहरू), पहाड र हिमालको महत्त्व (यसमा–नेपालको वन, चुरे पर्वत, महाभारत लेक, मध्यपहाडी भाग, हिमालय, भित्री हिमालय र तिब्बती सीमान्त पर्वतश्रेणी, तराई मधेस, हिमालयको उत्पत्ति, नेपालका सिमसार क्षेत्र, माइपोखरी, कोसीटप्पु वन्यजन्तु आरक्ष, रिमसार क्षेत्र, तथा श्रीलङ्का टापु, गोल्यो ताल, जगदीशपुर ताल, पाँचपोखरी, गोसाइँकुण्ड ताल, बिसहजारी ताल, से–फोक्सुन्डो ताल, पोखरा वरपरका तालहरू, घोडाघोडी ताल) आदिको चर्चा छ । त्यसैगरी नेपालका प्रसिद्ध केही स्थान र व्यक्ति (यसमा काठमाडौं उपत्यका, राजा जनक र जनकपुरधाम, गौतमबुद्ध र लुम्बिनी, पाशुपत क्षेत्र र पशुपतिनाथ, पोखरा, मुस्ताङ, लोमान्थाङ, सौराहा, सगरमाथा, विश्वमा नाम चलेका नेपालका पदयात्रा मार्ग, नेपालमा रहेका मुख्य हिमाल र हिमनदी आदिको चर्चा छ ।)
त्यस्तै नेपालको इतिहासमा शाहवंशीय राजाहरू (यसमा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रवीरविक्रम शाहसम्म १३ जनाको सचित्र परिचय उल्लेख गरिएको छ ।) त्यस्तै नेपालमा राणाशासन र राणा प्रधानमन्त्रीहरू (यसमा जङ्गबहादुर राणादेखि श्री ३ मोहनशमशेर राणासम्म ९ जनाको सचित्र परिचय दिइएको छ ।) त्यस्तै २००७ साल र त्यसपछिको राजनीतिक इतिहास, नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको स्थापनाको बारेमा छ भने नेपालका चर्चित राजनीतिज्ञ र प्रधानमन्त्रीहरू (यसमा गणेशमान सिंहदेखि केपी शर्मा ओलीसम्म २७ जनाको परिचय दिइएको छ ।
यसमा सबैको तस्बिर रहे पनि रूपचन्द्र बिष्ट र महेन्द्रनारायण निधिको तस्बिर यहाँ समावेश देखिँदैन । त्यस्तै तेपालका चर्चित व्यक्तित्व, विभूति र सहिदहरू शीर्षकमा कालु पाँडेदेखि डा. योगी विकासानन्दसम्म ४० जनाको सचित्र उल्लेख गरिएको छ । नेपालका राष्ट्रपति, उपराष्ट्रपति र सामाजिक क्षेत्रका केही व्यक्तित्व शीर्षकमा प्रथम राष्ट्रपति डा. रामवरण यादवदेखि भद्रकुमारी घलेसम्म १५ जनाको वर्णन पाइन्छ । घलेको मात्र तस्बिर यहाँ छैन ।
नेपालका चार सहिद शीर्षकमा शीर्षकानुसार सबैको सचित्र परिचय दिइएको छ । नेपालका प्रमुख केही साहित्यकार शीर्षकमा आदिकवि भानुभक्त आचार्यदेखि सत्यमोहन जोशीसम्म ८ जनाको सचित्र वर्णन छ । त्यसैगरी नेपालमा रहेका विश्वकै अग्ला हिमालहरू शीर्षकमा सगरमाथादेखि अपि हिमालसम्मका १० ओटाको सचित्र परिचय छ । त्यस्तै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्र शीर्षकमा २१ ओटाको सचित्र परिचय छ । यसमा सबैको तस्बिर भए पनि मध्यवर्ती क्षेत्रको छैन । त्यस्तै नेपालमा मनाइने प्रमुख चाडपर्वहरू अन्तर्गत बुद्धपूर्णिमा-बुद्धजयन्तीदेखि रमजानसम्म ३८ ओटासम्मको सचित्र वर्णन गरिएको छ । यसरी खण्ड एक २२६ पृष्ठमा पुग्दा सकिन्छ ।
खण्ड : २ को मुख्य शीर्षक हो–सङ्घीय संरचनामा मेरो देश । यसको आरम्भ पृष्ठ २६९ देखि सुरु भई ६७९ पृष्ठमा पुगेर समापन भएको देखिन्छ । यसमा हाम्रो देशको हालको सङ्घीय शासन संरचना अन्तर्गतका विषयवस्तुबारे प्रकाश पारिएको छ । सङ्क्षेपमा भन्नुपर्दा पूर्वको कोसी प्रदेशदेखि पश्चिमको सुदूरपश्चिम प्रदेश अर्थात् देशका ७७ ओटै जिल्लाको सचित्र परिचय, भौगोलिक अवस्थिति वा भनौं ती सबै प्रदेशमा रहेका जनसङ्ख्यागत विवरण, धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, पर्वत, ताल तलैया, वन, रिसोर्ट आदि महत्त्वपूर्ण पक्षबारे सचित्र वर्णन गरिएको छ । अन्त्य भागमा पुस्तक तयार पार्दा सहयोग लिइएको सन्दर्भ सामग्रीको विवरण एक पृष्ठको देखिन्छ ।
समग्रमा र हृदयतः भन्नुपर्दा यो पुस्तक साँच्चै उपयोगी छ । नेपाल प्रज्ञाप्रतिष्ठानको शब्दकोशअनुसार उपयोगी शब्दले काममा प्रयोग गर्न सकिने, काम लाग्ने, चल्तीमा ल्याउन सकिने, उपयोग गर्न लायक, ठिक, चाहिँदो, लाभकारी आदि अर्थ दिन्छ । पुस्तकले आआफ्ना ज्ञानका तह वृद्धि गर्न चाहने सबैलाई लक्षित गरेको देखिन्छ । स्वाभाविक रूपमा पुस्तक बृहत् आकारको छ र मूल्य पनि राम्रै छ । विभिन्न विषय अध्ययन गरिरहेका विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय स्तरमा विद्यार्थी, सरकारी वा कतिपय गैरसरकारी क्षेत्रको जागिरमा प्रवेश गरेका वा गर्न चाहने व्यक्ति, राजनीतिक, सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिक, पर्यटकीय आदि क्षेत्रको ज्ञान हासिल गर्ने चाहना पालेका प्रायः सबैलाई प्रस्तुत पुस्तक उपयोगी र महत्त्वपूर्ण देखिन्छ । सिकारु विद्यार्थी, अध्यापनरत शिक्षक-प्रशिक्षक, योजनाकार, पर्यटक, पथप्रदर्शक तथा स्वतन्त्र अनुसन्धाताका निम्ति समेत पुस्तक लाभदायक छ । आफ्नो जन्मभूमि नेपालका बारेमा सामान्य सरोकार राख्ने, चासो दिने वा गहन ढङ्गले बुझ्न तथा यस देशको सांस्कृतिक ऐतिहासिक र खास खास पक्ष एवम् मौलिक विशेषतापूर्ण ज्ञानलाई विदेशका अनेक भाषामा अनुवाद गरी स्वदेशको गौरव तथा महिमा वृद्धि गर्दै विदेशमा समेत फैलाउन खोज्ने हैसियत राख्ने सत्पात्रका लागि यो पुस्तक झन् उपयोगी देखिन्छ । विभिन्न लेखक वा प्रकाशन संस्थाबाट नेपालका अनेकानेक विषय र पक्षबारे प्रकाश पारिएका विभिन्न आकार प्रकारका अन्य पुस्तकहरू समेत प्रकाशन भएका पाइन्छन् । अतः नेपाल बुझ्न यो ‘मेरो देश’ मात्रै निर्विकल्प पुस्तक भने होइन ।
पुस्तकका लेखक डा. न्यौपानेको लेखकीयअनुसार “प्रस्तुत पुस्तकको सामग्री सङ्कलन र लेखन सुरु भएको १२ वर्ष पूरा भएको छ । यसबिचमा कतिपय स्थान र धरोहरहरूको पुनः निर्माण पनि सम्पन्न भइसकेको छ । पिछडिएका ठाउँहरूको विकासले तीव्रता पाएको छ । देश पुुनः संरचनामा जाँदा स्थान र गाउँका नाम परिवर्तन भएका छन् । गाविसहरू गाउँपालिकामा र नगरपालिकामा परिणत भएका छन् । यो परिवर्तित अवस्थामा पनि सकेसम्म प्रामाणिक तथ्यहरू मात्र समावेश गर्न सक्दो कोसिस गरिएको छ ।” पुस्तकलाई विषयवस्तु अनुसार सचित्र तुल्याइएको पक्ष सकारात्मक छ । यसको आकार बृहत् भए पनि यसमा कागज प्रयोगको सचेतताका कारण पुस्तक बोक्न, हिंडाउन र लैजान खासै असहज लाग्दैन । पुस्तकको आवरण चित्रले धेरै पाठकलाई आकर्षित मात्र होइन सम्मोहित नै तुल्याउँछ । विषयवस्तु प्रस्तुतिको न्योचित र सुसङ्ठित ढाँचाकाँचा एवम् चाँजोपाजोको पूर्व तारतम्य नमिलाउँदा कुनै विषयको राम्रै प्रकाश पारिएको त कुनै सामान्य रूपमै चर्चामा सीमित गरे जस्तो पनि कताकति भान हुन्छ । प्रकाशन संस्थाको जुन गरिमा छ, त्यसअनुरूप सुसङ्गठित, व्यवस्थित सम्पादन कलाको यसमा केही न केही अपुग भएजस्तो लाग्छ । सचेत पाठकलाई यसमा यत्रतत्र भेटिने वर्णविन्यासगत बग्रेल्ती त्रुटिपूर्ण प्रयोगले अलि निराश तुल्याउन सक्छ ।
यस संस्करणमा असावधानीवश रहन गएका कतिपय तथ्यगत, व्याकरणगत एवम् सम्पादनगत कमजोरी पक्षलाई मसिनो संशोधन र सुधार गर्दै दोस्रो संस्करण प्रकाशन हुने नै छ भन्ने अपेक्षा हुनु अस्वाभाविक नठहर्ला । लेखकको स्वदेशप्रतिको समर्पणयुक्त औदार्य भावना, पुस्तकका अक्षर–अक्षर तथा चित्र–चित्रले भने समग्रतामा हाम्रो देश जुरुक्क बोकेका छन् । आफ्नो मन र जीवनमा स्वदेशप्रतिको कञ्चन सद्भाव तथा कर्तव्य सञ्चयन गर्दै यस देशको महिमा वृद्धिका निम्ति कलमका माध्यमबाट निकै वर्षको साधनापूर्ण सत्कार्य सुसम्पन्न गरी ‘मेरो देश’ जस्तो पठनीय, सार्थक, उपयोगी एवम् सङ्ग्रहणीय पुस्तक पाठकवर्गमा पु¥याउन सफल भएकामा यसका लेखकप्रति यस अवसरमा हार्दिक बधाईसहित पुस्तक लोकप्रियताका निम्ति समेत अनन्त शुभकामना व्यक्त गर्दछु ।
सिद्धार्थनगर, रूपन्देही