इलाम ,१२ असार । लिम्बू जातिको बाहुल्यता रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू जातिको मातृभाषाको सम्मान गर्दै लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने भएको हो ।माङसेबुङले गाउँसभाको ११ औं अधिवेशन र चुलाचुली गाउँसभाको १० औं अधिवेशनमा आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू भाषालाई पालिकाभरी कामकाजी बनाउने तयारी गरेको हो ।
यसअघिकै कार्यकालमा माङसेबुङ र चुलाचुलीले परीक्षणका रुपमा एक,एक वडामा लिम्बू भाषालाई कामकाजी बनाएको थियो । यसपटक दुवै गाउँपालिकाले एकैपटक पालिकाभरी लिम्बू भाषालाई कामकाजी बनाउने तयारी गरेको हो ।माङसेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू जातिको बसोबास रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । ३६ प्रतिशत राई जातिको बसोबास रहेको छ । चुलाचुली गाउँपालिकामा समेत लिम्बू जातिको बाहुल्यता रहेको छ ।
पालिकामा लिम्बू भाषा कामकाजीलाई प्रभावकारी बनाउन ‘दोभाषे कर्मचारी’ का रुपमा मातृभाषी कर्मचारी नियुक्त गर्नेछ । ‘दोभाषे कर्मचारी’ले कार्यालय र सेवाग्राहीबीच दोभाषेको काम गर्नेछन् ।लिपिमा भने दुवै गाउँपालिकाले किरात सिरिजंगा लिपि प्रयोग गर्नेछ ।जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले वडा नम्बर ५ मा ०७५ सालमा र चुलाचुलीले भने २०७७ मा वडा नम्बर १ मा लिम्बू भाषालाई कामकाजी भाषाका रुपमा लागू गरेको थियो ।
लिम्बू जातिको एकल बाहुल्य रहेको ती वडामा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजीको रूपमा प्रयोगमा ल्याइएको थियो ।ती वडाले आफ्नो कार्यालयको साइनबोर्ड, कार्यालयको लेटरप्याड, छाप एवं विभिन्न अनुसूची फारामहरूमा समेत लिम्बू भाषा र किरात सिरिजंगा लिपि प्रचलनमा ल्याएको छ ।