झापा,११ असार । एसियाका आदिवासीहरुको साझा संस्था एसियन इन्डिजिनियस पिपुल्स प्याक्ट(एआइपीपी)ले कोशी नाम खारेजीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।नेपालसहित एसियाका विभिन्न १४ वटा देश सदस्य भएको एआइपीपीका पदाधिकारीहरु र आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको अन्त्रकृयामा उनीहरुले यहाँको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।
आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह( लाहुर्निप) र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमवार बिर्तामोडमा संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एआइपीपीका महासचिवमा ग्याम वोङ्दी सिमरीले कोशी नाम खारेजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनलाई सुदृढ बनाउने कुरामा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै एआइपीपीका उपमहासचिव के जनले कोशी नाम खारेजी आन्दोलनप्रति आफूहरु उत्साहित भएको उल्लेख गरे । आदिवासीहरुको लागि नाम महत्वपूर्ण विषय भएको बताउँदै उनले नामसंग आदिवासीहरुको भूमि , अध्यात्म, संस्कार संस्कृति र संसारले हेर्ने दृष्टिकोण जोडिएको अनुभव सुनाए ।
कार्यक्रममा आदिवासी अभियन्ता डा. कृष्ण भट्टचनले लाटोको भूतले कोशी प्रदेश नामकरण गरेको बताउँदै उनले त्यस्ता लाटोको भूत र बंशका गद्धारहरुलाई जहाँ भेट्यो त्यही लात्तीले हिर्काउनु पर्ने चेतावनी दिए ।
प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बू लगायतले कोशी प्रदेश नामकरण शंसोधन नभएसम्म आन्दोलन नरोकिने जोड दिएका थिए । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाका सचिव सेसेहाङ फियाकले स्वागत मन्तव्य राखेका थिए भने संचालन पारसमणि राईले गरेका थिए । कार्यक्रममा विभिन्न जातीय संस्थाका अग्रजहरुको सहभागिता रहेको थियो ।