फाल्गुनन्द गाउँपालिकामा लिम्बु भाषा सरकारी कामकाजको भाषा

पाँचथर,१२ असार । जिल्लाको फाल्गुनन्द गाउँपालिकाले लिम्बु भाषालाई स्थानीय सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ।
लिम्बु जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बु समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस् भन्ने उद्देश्यले लिम्बु भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको गाउँपालिकाले जनाएको छ ।पालिकाको आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले सो घोषणा गरेका हुन्।
उनका अनुसार आगामी आर्थिक बर्षदेखि गाउँपालिकाले पालिकाभित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने निर्णय गरिएको छ।

गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित गरिएको छ । यस अघिदेखि नै पालिकामा मातृभाषाको रूपमा लिम्बु भाषा पढाइ हुँदै आएको छ। पालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै शिक्षा ऐन २०७८ जारी गरी कार्यान्वयनना ल्याउने र मातृभाषाको पठनपाठनलाई संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय भाषाको पाठ्यक्रमलाई समयसापेक्ष व्यावहारिक रूपमा परिमार्जन गरी प्रयोगमा ल्याउने भएको छ।

१६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको नामबाट नामाकरण गरिएको यो पालिकाभित्र उनको कर्म क्षेत्र तथा समाधीस्थल रहेको हुँदा धार्मिक पर्यटकीयस्थलको रूपमा समेत विकास, प्रवर्द्धन तथा संरक्षण गरिने भएको छ।

यसअघि इलामको माङ्सेबुङ गाउँपालिकाको ५ नम्बर वडाले पनि लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रूपमा सञ्चालन गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.