कमल,१० असार। झापाको कमल गाउँपालिकाले आगामी आर्थिक बर्षका २०८०-०८१ का लागि ७२ करोड २१ लाख रुपैया भन्दा बढीको बजेट प्रस्ताव गरेको छ ।गाउँपालिकाको आइतबार शुरु १३ औं गाउँ सभामा अध्यक्ष हुकुमसिंह राईले नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रमिला न्यौपानेले बजेट गरेकी थिइन् ।अध्यक्ष रा गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम बैठकले पारित गरेको छ ।
त्यसैगरी दोस्रो बैठकमा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आगामी आर्थिक बर्ष २०८०-०८१ लागी ७२ करोड २१ लाख ८० हजार रुपैयाको बजेट प्रस्तुत गरिन्।
गाउँसभाको पहिलोसत्रमा पालिका अध्यक्ष राईले आगामी आर्थिक बर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादन बढाउने र शैक्षिक क्षेत्रको बिकासका लागि स्थानीय सरकारका तर्फबाट अख्तियार गरिने नीतिहरुको लामो फेहरिस्त प्रस्तुत गरेका छन् ।कृषि उत्पादनमा बृद्धि कमलको समृद्धि भन्ने नारासहित कृषि बिकासका कार्यक्रमलाई अघि सार्दै अध्यक्ष राईले आगामी ४ बर्ष भित्र किसान सुचिकरणको कामलाई पूर्णता दिईने, एक समूह एक कृषि उत्पादन, कृषि उपजको बजारीकरणका लागि समूह तथा सहकारीसँगको साझेदारीमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याइने, अगुवा कृषकहरुका लागि रोजगार सेवा केन्द्रबाट श्रमिक ब्यवस्थापन गरी जैविक एवंम कमल युरिया साथै कमल प्राङ्गारिक मल उत्पादन गरी मल उत्पादन तथा वितरण गरी विद्यमान रासायनिकमलको प्रयोगलाई न्यूनीकरण गर्ने नीति अघि सारिएको छ ।
कृषि यान्त्रिकरण तथा कृषिका अन्य पूर्वाधार विकास गरी चाक्लाबन्दी खेतीलाई प्राथमिकता दिईने, नदी उकास तथा बाँझो जमिनमा खरभुजा तरभुजा परवल लगायतका बालीहरु लगाई उत्पादनको आधारमा प्रोत्साहन गर्ने नीति लिइएको छ भने स्वस्थ जीबनका लागि कमलको जैविक ताजा तरकारी भन्ने नारालाईसाकार पार्न एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत पोषणयुक्त तरकारीहरु न्यूनतम १ कठ्ठामा लगाउने कृषकहरुका लागि नगद प्रोत्साहन गर्ने नीति लिइएको छ । त्यस्तै कमल झोल मल र कमल युरिया मलको उपयोगका लागि वडा वडाबाट वितरण गर्ने कामलाई निरन्तरता दिइने उल्लेख छ ।
दुुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादन गरी बिक्री गरिएको प्रमाणका आधारमा अनुदान कार्यक्रम मार्फत आगामी ५ वर्ष भित्रमा ५० लाख लिटर दुधको उत्पादन पुर्याई कमल गाउँपालिकाबाट वार्षिक ३० लाख लि.दुध निर्यात गर्ने तथा दुुग्ध पदार्थ उद्योगहरु स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष राईबाट प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ ।
सामुदायीक विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुको पहुँच वढाउनका लागि आमा बुवा दुबै गुमाएका साथैं वुवाको मृत्यु भई आमाको सहारामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ती अनुदान उपलव्ध गराउने गाउँपालिकाको नीति छ ।
विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको प्रस्फुटनका लागि खेलकुद तथा कम्प्युटर शिक्षालाई प्रोत्साहन गर्नका लागि घुम्ती शिक्षकको ब्यबस्थापन गर्ने नीति लिईएको छ भने विद्यालयहरुमा अध्ययनरत वालवालिकाहरुलाई शैक्षिक उन्नयन तथा पृष्ठपोषण गर्नका लागि पालिकास्तरीय विज्ञ समूह गठन गरेर विद्यालय अनुगमन तथा शिक्षण सिकाई गतिबिधिमा पृष्ठपोषण प्रदान कार्यक्रममा जोड दिईने पनि पालिकाको पारित नीतिमा उल्लेख छ ।