
–छविराज ढकाल
पथरी, ११ असार । पूर्वी मोरङको पथरीशनिश्चरे नपाले आव २०७८-०७९का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रूपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।
विहिवार सम्पन्न नवौं नगर सभाले चालु आवको वार्षिक प्रतिवेदन पारित गर्दै आगामी बर्षको लागि नीति, कार्यक्रम तथा बजेट पास गरेको हो ।
शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रवक्ता याम गुरागाईले हिजो सम्पन्न नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि १३ करोड ८५ लाख ११ हजार७ सय ४४ रूपैया बराबरको प्रस्तावित वार्षिक चालु तथा प्रशासनिक व्ययको प्रक्षेपण गरिएको उल्लेख गरे ।
पारित बजेट सार्वजनिक कार्यक्रम तथा पत्रकार सम्मान समारोहमा उनले नगरको समग्र शिक्षा , स्वास्थ्य र कृषि,पशु,सहकारी तथा लघुवित्त क्षेत्रमा विकासको लागि १ करोड २५ लाखका दरले बजेट छुट्याइएको बताए भने मठ मन्दिर र सामुदायिक वन साझेदारी कार्यक्रम सञ्चालन गर्न ३५ लाख रूपैयाँ विनियोजन गरिएको जनाएका थिए । यसैगरी, खेलकुद, बसोवास व्यवस्थापन, विपद व्यवस्थापन , सवारी तथा साधन खरिदका लागि क्रमशः २१ लाख,२५ लाख, ६० लाख र१५ लाख रुपैयाँ विनियोजन भएको छ ।भाषा साहित्य र कलातथा संचार प्रवर्द्धन गर्न १० लाख रुपैयाँ तर्जुमा गरिएको छ भने महिला सञ्जालको भवन निर्माण, न्यायिक तथा विधान समितिहरूले संचालन गर्ने कार्यक्रमका लागि २८ लाख रूपैयाँ अनुमानित बजेट छुट्याइएको छ ।
सोहि अवसरमा पत्रकारहरुले उठाएको जिज्ञासामा उक्त रकम तल्लो वर्ग र लक्षित समुदायका लागि अत्यावश्यक रहेको न्यायिक नगर समिति संयोजक समेत रहेकी उप प्रमुख यमुना विष्ट वास्तोलाले बताईन् ।
प्रदेश तथा संघीय सरकारले दिने सशर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतमा कार्यरत कर्मचारीको तलबभत्ताबापत २३ करोड ६६ लाख खर्च हुने अनुमान गरिएको छ। यता नगरका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका निम्ति २८ करोड रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरिने पनि नगर प्रवक्ता गुरागाईंले बताएका थिए। शहिद रत्नपार्कको भौतिक पूर्वाधार तथा निर्माण र लक्षित वर्ग कार्यक्रम सञ्चालनका लागि कूल १ करोड रुपैयाँ विनियोजन गरिएको छ भने मेसिनरी औजार,सडक बोर्ड म्याचिङ, ब्यापारिक कम्प्लेक्स नगरविकास कोष म्याचिङ, समपुरक अनुदान म्याचिङ सडक वोर्ड नेपाल आदिमा २ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको हो । यसैगरी,
संघीय सरकारले दिने सशर्त अनुदान (पुँजीगत )रु. ४ करोड १३ लाख र समपुरक अनुदानको १ करोड १८ लाख बराबरको बजेट खर्च हुने अनुमान गरिएको छ।
आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ३ करोड रुपैयाँ बराबरको आन्तरिक स्रोत बापत सम्पत्ति कर भूमि कर, घरबहाल कर , मनोरञ्जन कर, अन्य सेवा शुल्क तथा दस्तुर बाट प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी, १३ करोड ४६ लाख ६९ हजार ४सय २०रूपैया राजस्व बांडफांडबाट प्राप्त हुने प्रक्षेपण गरिएको छ भने अन्य स्रोतबाट २९ करोड ७ लाख ९६ हजार ३ सय २४ रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। प्रदेश सरकारले १ करोड २६ लाख ४६ हजार रुपैयाँ सहयोग अनुदान प्राप्त हुने लक्ष्य लिइएको छ भने संघीय सरकारको ४८ करोड ८५ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
गत असार १० गते नगर सभामार्फत उपप्रमुख वास्तोलले आगामी अवका लागि प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट पारित भएको थियो ।
आर्थिक विकास तर्फ पशुपंक्षी तथा मत्स्य पालनका लागि उच्च प्राथमिकतामा राखिएको, पशु नश्ल सुधार, पशु आहारा बिकास तथा प्रवर्द्धन, पशुपंक्षी वध स्थान, विपन्न वर्गका महिलाहरुलाई पशुपालन गराउन प्रेरित गराउने जस्ता कार्यक्रम सार्वजनिक गरीएको छ भने कृषि विकासको लागि औजार, उपकरण, जैविक मल ,वीउ, आदिमा अनुदानको व्यवस्था गर्ने जनाइएको छ।
प्रदेश सरकारले घोषणा गरेबमोजिम हरित अभियान सफल बनाउन ू एक घर, एक फलफूलको विरुवा रोपणु कार्यक्रम कार्यान्वयनमा ल्याउने, बाँझो जमिन रहन नदिने ध्येयले सहकारीको माध्यमबाट सामूहिक र करार खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने , अर्गानिक नगर बनाउन चालु आर्थिक वर्ष ०७८-०७९ देखि २ नं वडाबाट शुरु गर्ने, सरकारीवा गैरसरकारी संस्थाको समन्वयमा जियो कृषि कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
सहकारी। एकीकरण गर्ने संघीय नीति तथा कार्यक्रमलाई यस समेत नगरमा प्रभावकारी अनुगमन सहित व्यावस्थित बनाउने , लघु उद्यम तथा पर्यटन बिकासमा समेत जोड दिएको छ। संस्थागत विकास, सुशासन र सेवा प्रवाह गर्नका लागि नगरका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई समय सापेक्ष तालिम उपलब्ध गराई सेवा गुणस्तर तुल्याउने उद्देश्य लिईएको छ ।
नगरको समग्र भौतिक पूर्वाधार विकासका निम्ति आगामी आर्थिक वर्ष नगरपालिकाको आफ्नै भवन तथा सबै वडाहरूको नीजि भवन निर्माण सम्पन्न गरी प्रशासनिक सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ ।
यस बर्ष ५ वटा वडा कार्यालय निर्माण सम्पन्न हुने क्रममा रहेका र आउदो आवमा अरू ३ वटा वडा कार्यालयको भवन निर्माणका लागि प्राथमिकता दिइएको नगरप्रमुख राईले १० वटै बडाका लागि ८ करोड ७५ लाख बराबरको वडा सिलीङ बजेट पारित भएको भन्दै वडा नं १ स्थित नगरपालिकाको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स निर्माण सम्पन्न कार्यक्रमको लागि पनि आवश्यक व्यवस्था मिलाइने जनाए। यता, वडा नं -१ र १० मा आदिवासी रंगशाला निर्माणका लागि संभाव्यता अध्ययन गरी कार्यान्वयन गरिने भएको छ।
नगरसभाले नगरको फोहोर मैला व्यवस्थापन सम्वन्धि नीति, मापदण्ड, योजना तथा कार्यक्रमको समन्वय र सहजीकरण कार्य प्रभावकारी बनाउने जनाएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गर्ने, अग्रपंक्तिमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मी लगायत अरू कर्मचारीलाई प्रोत्साहन व्यवस्था गर्ने,विपद व्यवस्थापन तथा वातावरण संरक्षण ऐन को प्रभावकारी कार्यान्वयन गरिने, एम्बुलेन्स,बारूणयन्त्र , लाईफ ज्याकेट ,आदि आवश्यक औजार व्यवस्था गर्ने, बर्षातमा हुने जनधनको क्षति न्यूनीकरण गर्न पनि पहलकदमी लिईने बताइएको छ भने प्राकृतिक प्रकोपमा परेका। नागरिक को तत्काल उद्धार तथा राहतका लागि व्यवस्था गर्ने जनाइएको छ।
यसैगरी, नगरमा स्वच्छ वातावरण कायम राख्न, शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक योजना वनाई कार्यन्वयनमा आवश्यक पहल गरिने भएको छ। लैङ्गिक हिंसाविरुद्ध का लागि सचेतना अभियान सुरु गर्दै निवारण कोषमा रकम थप गरी परिचालन गर्ने भनिएको छ।
पत्रकार जम्नेलीसहित तीन पुरस्कृत
सोहि अवसरमा नगरमा रहेर मर्यादित पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुरयाँएको भन्दै संचारकर्मी तथा संचार माध्यमलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट पत्रकार संचारमाध्यम रातोपाटी डट कमका प्रबन्ध (संपादक अर्जुन जम्नेली राई, ,उत्कृष्ट पत्रकार पुरस्कार प्राइम टेलिभिजनका कुमार खड्का, उत्कृष्ट संचार माध्यम पुरस्कार ( कुर्कुरे डट कमका मोहन भट्टराई र लेखनवृत्ति पुरस्कार दिनेश सुब्बालाई प्रदान गरिएको थियो।
पुरस्कृत संचारकर्मीलाई जनही १४ हजारका दरले नगद , सम्मान पत्रले दोसल्ला ओढाएर नगर सम्मान गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, १नं वडाका वडाध्यक्ष बाबुराम येङदेन, १०नं वडाध्यक्ष सागर राई, ७नं वडा कपिलमणी ढकाल, ४नं वडाध्यक्ष खेममणि भण्डारी लगायतले पारित नीति तथा कार्यक्रमको विषयमा आआफ्नो धारणा राखेको उक्त कार्यक्रमको सञ्चालन नगरका प्रेस संयोजक भुपेन्द्र तिम्सिनाले गरेका थिए ।