दमकको वजेट १ अर्व ३८ करोड ४६ लाख

दमक, १० असार । दमक नगरपालिकाले आर्थिक बर्ष २०७८÷ २०७९ का लागि रु १ अर्व ३८ करोडको ४६ लाख बराबरको अनुमानित बजेट ल्याएको छ ।
आज भएको ९ औं नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बार्षिक नीति तथा कार्यक्रमसहित कुल रु १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार वजेट प्रस्तुत गरिन् ।
नगरले कोभिड –१९ सँग लड्न स्थापना गरेको कोषमा रकम बढाउँदै क्वारेण्टाईन, आइसोलेशन निर्माणको कामलाई अझ व्यवस्थित बनाउँदै लैजाने जनाएको छ । यसको नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्न लागिएको उपप्रमुख अधिकारीले बताइन् ।
नगरसभामा बोल्दैं नगर सदस्यहरुले भने नगरमा भएको बिकास निर्माण लगायतका काम गुणस्तरहीन नभएको, अवलोकन भ्रमणको नाउँमा रकम दुरुपयोग भएको, नगरका ढल व्यवस्थित नभएको लगायतका बिषयमा गुनासो राखेका थिए ।
नगरसभा सदस्य श्याम कार्कीले नगरपालिकाको बैठक भक्तामा चरम भ्रष्टाचार भएको त्यसलाई सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे । बैठकमा उपस्थित नभएका सदस्यहरुको पनि हस्ताक्षर प्रयोग गरि रकम निकासा गरिएको भन्दै उनले यसलाई परदर्शी बनाउन आग्रह गरेका थिए ।
त्यसैगरी अर्का नगर सदस्य बुद्धिमान कार्कीले कोरोना नियन्त्रणका लागी भएको खर्च विवरण सार्वजनिक गर्न माग गरे । नगरसभा सदस्य नरेश सुनुवारले संघीय सरकारबाट नगरमा धेरै ठुला योजनाहरु आएको भए पनि ति योजनाले गरिब नागरिकलाई खासै अर्थ नराख्ने भन्दै गरिब तथा विपन्न लक्षित कार्यक्रमहरु ल्याउन आग्रह गरे ।
त्यस्तै,नगर सदस्य कृतिका भट्टराईले नगरका ढल व्यवस्थित नभएको भन्दै तिनलाई व्यवस्थित बनाउन आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published.