दमक,९ असार । दमक नगरपालिकाले शहर बजारमा होहल्ला गर्दै क्यारेमबोर्ड र लुडो खेल्ने क्रम बढेको भन्दैे यी खेललाई प्रतिबन्ध गरेको छ । जुवाजन्य रुपमा हारजीतसहित क्यारेमबोर्ड र लुडो खेल्ने प्रवृती मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए ।
नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र बिकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनु परेको पनि थापाले जनाए । क्यारेमबोर्ड र लुडो जुवाजन्य खेल नभएको भएता पनि ठुलोठुलो धनराशीको बाजी खेल्ने गरेको पाईएको पनि छलफलमा कुरा उठेको बताइएको छ ।
बाह्रमासे हिसावले पसल तथा गल्लीगल्लीमा छरछिमेक र बालबालिकामा समेत असर गर्नेगरी यस प्रकारका खेल खेल्ने र खेलाउने कार्य नरोकिए कार्वाही गरिने पनि नगर प्रमुख थापाले जानकारी दिए । क्यारेमबोर्ड र लुडो प्रतिबन्ध गरिएकोप्रति कतिपयले बिरोध पनि जनाएका छन् ।
निर्णय कार्यन्वयनका लागि नगर प्रहरी परिचालन गरिएको बताईएको छ । स्थानीय प्रशासन र प्रहरी समेत सर्वपक्षीय छलफलमा बसेर निर्णय गरिएकाले यसलाई कार्यन्वयन गर्न सबै लाग्ने प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ ।