दमक,९ असार । जीवन स्मृति प्रतिभा पुरस्कारबाट दमकमा पाँचजना श्रष्टा सम्मानित भएका छन् । दमकको जीवन स्मृति प्रतिष्ठानले वितरण गर्दे आएको जीवन स्मृति प्रतिभा पुरस्कारबाट चार वर्षको एकैसाथ वितरण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष भुमीप्रसाद दाहालका अनुसार जीवन स्मृति पुरस्कार २०७८ बाट स्रष्टा लीला उदासी, मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे (२०७९ ), २०८० कलाकार बिक्रमश्री (२०८०) र कथाकार रीता ताम्राकार (२०८१ ) रहेका छन् ।
त्यसैगरि, युवा प्रतिभा प्रोत्साहन पुरस्कारबाट दमककी सर्जक चोमू शेर्पा खुशीलाई प्रदान गरिएको प्रतिष्ठानका सचिव धनकुटे कान्छाले बताए ।जीवन स्मृति प्रतिभा पुरस्कार जनही २० हजार १११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार १० हजार १११ नगद र ताम्रपत्र रहेको छ ।
दमक बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच ती सवै प्रतिभाहरुलाई दमक नगर प्रमुख रामकुमार थापाले पुरस्कृत गरेका थिए । जीवन आचार्य चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकारका रुपमा २०३० को दशकदेखि चर्चा कमाएका दमकका सर्जक थिए । उनैको नाममा पिता कमल जंगली आचार्यको अगुवाईमा प्रतिष्ठान स्थापना गरिएको थियो ।
प्रतिष्ठानबाट १० लाखको अक्षयकोष खडागरी त्यसको व्याजबाट पुरस्कारसहितका विभिन्न साहित्यीक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।