दमक,७ असार । प्रदेशका विभिन्न तीन वटा घटनामा परेर एक किशोरसहित तीन जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ, इलाम र पाँचथरमा भएका अलग अलग दुर्घटनामा परेर एक किशोरसहित तीन जनाको ज्यान गएको हो ।
टिफरको ठक्करबाट रंगेलीमा वृद्धाको मृत्यु
टिफरको ठक्करबाट मोरङको रंगेलीमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशीको मृत्यु भएको हो ।भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिफरले सडक पार गर्दैगर्दा रंगेली–९ फर्साडाँगीमा वृद्धालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार राति मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले बताए ।टिपर चालक सर्लाही लालबन्दीका अन्दाजी ३५ वर्षीय दिनेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
पौडी खेल्दा डुबेर किशोरको मृत्यु
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर पाँचथरको एक किशोरको ज्यान गएको छ ।ज्यान जानेमा याङवरक–५ कुवापानी निवासी धनबहादुर काम्बाङका १९ बर्षिय छोरा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बुधबार अपराह्न साथीहरुसँग याङवरक–५ कालापानी नजिकै बांगे पोखरी गएका काम्बाङको पौडिन नजान्दा डुबेर मृत्यु भएको हो । उनी साथीहरुसँग पोखरीमा पौडी खेल्न गएका थिए । काम्बाङको शव बिहीबार बिहानै पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए ।
ट्याक्टर दुर्घटनामा मृत्यु
इलामको राँकेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ साथै एकजना घाइते भएका छन् ।बुधबार इलामबाट राँकेतर्फ गइरहेको मे १ त २५२३ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खस्दा एकजनाको दुर्घटना स्थलमा नै मृत्यु भएको र एकजना सामान्य घाइते भएका छन् । घाइतेलाई इलाम अस्पतालमा लगी उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।