
कमल,७ असार । घरवारविहीन भएकी झापा, कमल गाउँपालिका वडा न. ७ गेउरियाकी अशक्त सानी केरुङ मगर ( जोगमाया ) ले सहयोगको याचना गरेकी छिन् । श्रीमानले छाड्ेपछि साना तीन छोराछोरीको दैनिक गुजाराका लागि उनले सवैसंग सहयोगको याचना गरिआएकी हुन् ।
उनका अनुसार शिवसताक्षी १ घर भएकी सानीको सानै उमेरमा विहे भएपनि चार बर्ष अघि खुट्टा नचल्ने अवस्था पुगेपछि श्रीमानले छाड्ेको थियो । दैनिक ज्याला मजदुरी गरिआएकी सानीको अचानक नसाका कारण हिडडुल गर्न समस्या भएपछि परिवार धान्न विचल्लीमा परेको उनले सुनाइन् ।
श्रीमान प्रेम मगरले आफूलाई नहेरेका कारण आफू दुई बर्ष यता गेउरियास्थित माइती घर आउन बाँध्य भएको उनले बताईन् । तर यता माइती घरको समेत अवस्था नाजुक छ । आमावुवा नभएको र माइती परिवारका पनि सवै सदस्यहरु परिवार धान्न दैनिक मजदुरी गरिआएका छन् ।
उनले माइतीमा समेत खानबस्न समस्या भएपछि उनी आफन्तको एक घरमा काम सघाउदै बस्दैआएको वताईन् । आफन्तको घरमा समेत सधैभरि बस्न गाहे भएपछि खान,बस्नको प्रवन्ध गरिदिन उनले आग्रह गरिआएकी छिन् । उनले भनिन्, –‘आफूसंग घरजग्गा पनि छैन्, परिवारलाई कसरी हुर्काउने भन्ने मात्र चिन्ता लाग्छ ।’
उनका एक ठुलो १४ बर्षिय छोरा मनोज आफन्तसंगै बस्दैआएका छन् भने उनीसंग भने ११ बर्षिया ठुली छोरी मनु र ८ बर्षिया जेनिशा छन् । आफै अशक्त सानीको परिवारलाई सिधै सहयोग गर्न मोवाइल नम्बर ९८१५०७६७४१ मा पनि सम्पर्क गर्न सकिने उनले बताइन् । उपचार पछि केहि महिना यता भने खुट्टा चलाउन सुधार हुदै गएकी सुनाईदै उनले अगाडी थपिन ,–‘यसो छाप्रो कसैले बनाईदिए आफै जनमन गरि परिवार पाल्ने थिए ’
छाप्रो निर्माणमा चासो
अशक्त समेत रहेकी आर्थिक अवस्था अत्यन्तै नाजुक भएकी सानीको अवस्था देखेर स्थानीयले छाप्रो निर्माणमा चासो दिएका छन् ।
सामाजिक अगुवा शान्ता केरुङले सहाराविहीन सानीको अवस्था देखेर अस्थायी रुपमा बस्नका लागि टहराको व्यवस्था गर्न जुटेको बताईन् । उनले भनिन् ,–‘हामीले उनको छाप्रो निर्माण संगै एकसरो पालनपोषण गर्न अभियानमा लागेका छौं ।’ उनको दिदीको स्थानीय धिमाल डाँडाको एक कठ्ठा जमीनमा अस्थायी टहरा बनाएर बिचल्ली सानीको परिवारलाई बसोबास दिलाउन जुट्दै आएको शान्ताले जनाईन् । टहरा बनाउन शान्ताको संयोजकत्वमा एक समन्वय समिति गठन गरि काम थालिएको हो ।
त्यही समितिको सक्रियतामा सानीका लागि टहरासहित आधारभूत भौतिक सामाग्रीको व्यवस्था गर्ने कार्य धमाधम भईरहेको उनले बताईन् । उनका अनुसार टहरा निर्माणमा हाल ३० हजार जुटिसकेको छ । त्यसै रकमबाट टहरा निर्माण कार्य भइरहेको उनले बताईन् । ‘टहरा वनाएर विचल्ली सानीको परिवारलाई पूर्नावास दिन लागेका छौ ’ उनले असहाय परिवारको जिविकोपार्जन गर्न आवश्यक सामाग्री समेत जुटाउन पहल भईरहेको बताईन् । उनले थपिन, –‘ अशक्त सानीको परिवारलाई सवैले सक्ने सहयोग गरौं ’