जिल्लाका कृषि हाट बजारहरु पूर्वाधारयुक्त बन्दै

दूधे बजारको टहरा स्तरोन्नती

दमक,६ असार । जिल्लाको ग्रामीण क्षेत्रका कृषि हाट बजारहरु विस्तारै पूर्वाधारयुक्त बन्दै गएका छन् ।ग्रामीण क्षेत्रको आर्थिक बिकासका सम्बाहकका रुपमा रहेका जिल्लाको साप्ताहिक तथा अर्ध साप्ताहिक कृषि हाट बजारहरुलाई बर्षेनी स्तरोन्नति गर्न थालिएपछि विस्तारै पूर्वाधारयुक्त बन्दै गएका हुन् । गौरीगञ्ग गाउँपालिका भित्रमा सातैदिन स्थानीय हाटवजार लाग्दैआएका छन् ।
भारतीय सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिकाको मुख्य बजार क्षेत्र गौरीगञ्ज र खजुरगाछी बजारलाई समेटेर सरकारले ल्याएको स्मार्ट सिटीको अवधारणाले थप विकासमा टेवा पुगेको छ । यी बजारमा गत बर्षदेखिनै पक्की ढलसहितका पूर्वाधारहरु बनिरहेका छन् भने यसैबर्ष वडा नं २ मा पर्ने बगाहा चौधरी बजार र वडा नं १ साविक महाभारामा पर्ने भन्सार बजारमा पूर्वाधार निर्माण गरेर बजारलाई आधुनिक र व्यवस्थित बनाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
गौरीगञ्ज २ का वडाध्यक्ष अघ्नु प्रसाद राजवंशी स्थानीय तहको निर्वाचनपछि आफूले जिम्मेवारी सम्हाले लगत्तै बगाहा चौधरी बजारमा व्यवस्थित पक्की टहरा निर्माण गरिएको र यसबर्ष समेत रु ३० लाख रुपैयाँको लागतमा बजारमा २९० मिटर पक्की ढल निर्माण कार्य गरिएको बताए ।
वडाध्यक्ष राजवंशीले भने ,–‘अनुसार बगाहाचौधरी बजार यहाँको पूरानो कृषि हाट बजार हो, यहाँ स्थानीय किसानले उब्जाएको तरकारी, अन्नपात आदि कृषि उपजको कारोबार हुने भएकाले यसलाई व्यवस्थित बनाउन र भविष्यमा हुने शहरीकरणलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माणमा जोड दिदैआएका छौं । ’
उनका अनुसार यस बर्ष गाउँपालिकाको बजेटमा सो बजेट स्तरोन्नति गरिएको हो । आगामी बर्षको कार्यक्रममा समेत यसलाई समावेश गरेर पूर्णता दिने योजना रहेको उनले बताए । बगाहा चौधरी बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानीय अगमलाल राजवंशी संघीयताको कार्यान्वयनसंगै बर्षौदेखि उपेक्षित रहेको ग्रामीण क्षेत्रको सो बजारको बिकासले मौका पाएको बताएका छन् । राजवंशी अगाडी भन्छन् – ‘यहाँ सागपात, माछा मासु, धान, मकै किनबेच गर्न आउँदा निक्कै समस्या हुने गरथ्र्यी अहिले पक्की टहरा बनेपछि धेरै नै सजिलो भएको छ । बजारको स्वरुपनै परिवर्तन हुने क्रममा रहेको छ ।’
यसैबर्ष तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत गौरीगञ्ज १ को भन्सार बजारलाई व्यवस्थित बनाउन त्यहाँँ सो क्षेत्रका पूर्व संघीय सांसद एलपी साँवाको पहलमा केन्द्र सरकारले करिब रु ३० लाख रुपैयाँ खर्चिइएको छ । स्थानीय तह मार्फत कार्यान्वयन गरिएको सो योजना तोकिएको समय अगावै सम्पन्न भएको वडाध्यक्ष कार्तिकलाल राजवंशी बताए ।
ग्रामीण भेगको कृषि उपज किनबेच हुने सो बजारमा आधुनिक पक्की टहरा निर्माणले व्यवसायी र उपभोक्ता दुवैलाई सहज भएको सो बजारका संस्थापक मध्येका लिला बहादुर साम्सोहाङ बताउँछन् । यो बजारमा पक्की टहरा निर्माणले बजारको स्वरुपनै परिवर्तन गरिदिएको उनको भनाई छ । यस अघि गत बर्षपनि सो वडाको वडा कार्यालय नजिकै रहेको साविक महाभारा बजारमा टायल विछयाएर बजारलाई हिलोमुक्त बनाइएको थियो । गाउँपालिकाकै प्रमुख आयस्रोतका रुपमा सो वडामा रहेको मवेशी पशुहाट कुञ्जीबारीलाई समेत व्यवस्थित र पूर्वाधारयुक्त बनाउने प्रयास शुरु भइसकेको छ ।
दुई बर्ष अघि सो बजार क्षेत्रको आंशिक सडक किनारमा ढलसहितको सडक कालोपत्रे गरिएको छ । बजार क्षेत्रका लागि आवश्यक जग्गा पर्याप्त नहुँदा भने बजार दिनदिनै साँघुरिदै गएको स्थानीयहरु बताउँछन् । सो बजारलाई थप व्यवस्थित र पूर्वाधारयुक्त बनाउन माथिल्लोे तहका सरकारको ध्यान जानुपर्ने वडाध्यक्ष राजवंशीको भनाई छ ।

दूधे बजारको टहरा स्तरोन्नति
झापा शिवसताक्षी नगरपालिका दूधेमा साप्ताहिक हाट लाग्ने टहराको स्तरोन्नति गरिएको छ । शिवसताक्षी ११ दूधेमा हाडबजार लाग्ने टहरा बर्षौ पछि स्तरोन्नति गरिएको हो । हाल सो स्थानमा ५ ओटा टहरा निर्माण गरिएको छ ।

संसद विकास कोष र वडा नं ११ को लगानीमा दूधे बजार विकास समितिले उपभोक्ता समिति मार्फत टहरा निर्माण गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ११ बाट १८ लाख ८९ हजार र संसद विकास कोषको १२ लाख २२ हजार गरी ३१ लाख ११ हजार ४ सय ११ लागतमा टहरा, बजार एरियामा माटो भरी ग्रेडिङ्ग रोलिङ्ग गरिएको वडा नं ११का वडाध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त टहरमा कम्तिमा ४० ओटा पसल सञ्चालन गर्न मिल्ने छ । त्यसै गरी बजार विकास समितिले सो स्थानमा रहेको पुराना टहरा १ लाख ६० हजारमा विक्री गरी रकम नगरपालिकालाई बुझाएको जनाएको छ ।
टहरा २० फुट चौडाई र ४० फुट लम्बाई र एस एम प्लेट सहित निर्माण गरिएको नगरपालिका प्राविधिक राम खतिवडाले बताए ।
टहराको शिवसताक्षी नगरपालिकाकी उपमेर भोकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई र प्राविधिक राम खतिवडाले अवलोकन गरेका छन् ।

वर्षौ अघिदेखि लाग्दै आएको दूधे बजारमा व्यापारीले भोग्दै आएका पीडा यसपालिदेखि हल भएको उपमेयर भोजकुमारी नेपालले बताइन् । पानी पर्दा बजारमा भएका पुराना टहरा देखि पानी चुहिने, र बजार भित्र पानीको भल पसेर बजार उठाउनु पर्ने बाध्यता अब नरहेको उपमेयर नेपालको भनाई छ । उनका अनुसार अब नगर भित्रका सबै साप्ताहिक लाग्ने हाट बजारहरुलाई व्यवस्थित गर्दै लगिने छ ।

शिवसताक्षी नगरपालिका वडा नं ११ र संसद विकास कोषको रकमबाट उक्त टहराहरु निर्माण गरिएको वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए । टहरामा ४० बढी पसलहरु राख्न मिल्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published.