
झापा, ४ असार । झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो लागेको छ । स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता निर्वाचन आयोगले पुनः असार १ गते खुलाएसँगै झापामा दर्ता गराउनेको घुइँचो लागेको हो ।
झापामा एकैपटक चार स्थानमा मतदाता नामावली दर्ता भइरहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए ।.
जिल्ला निर्वाचन कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रशासन कार्यालय दमक र इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नामावली दर्ता भइरहेको सूचना अधिकारी न्यौपानेले बताए । निर्वाचन कार्यालय परिसरमा भने दर्ता गराउनेको अत्यधिक भीड लागेको छ । दर्ता गराउने स्थानदेखि सडकसम्म दर्ताका लागि आउनेहरूको लामबद्ध लाइन लागेको छ ।
तीन दिनको अवधिमा झापामा ७०८ महिला र ६९३ पुरुष गरी जम्मा १४०१ जनाले नयाँ दर्ता गराएको उनले बताए । पहिलो दिन महिला २०१, पुरुष १६६, दोस्रो दिन २५९ महिला, पुरुष २६९ र तेस्रो दिन महिला २४८, पुरुष २५८ ले दर्ता गराएको उनले बताए ।
उनका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै मतदाता नामावली विवरणमा भएका त्रुटि सच्याउन, ठेगाना परिवर्तन, मतदानस्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन समेत काम भइरहेको छ । सबैभन्दा बढी भीड निर्वाचन कार्यालयमा देखिएको उनले बताए ।