
मेचीनगर, ४ असार । मेची अभियानले शुक्रबार झापाका दुईवटा पालिकालाई पाँचवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ ।अभियानका परिकल्पनाकार नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माको विशेष पहलमा करिना फाउण्डेशनद्वारा सहयोग गरिएका ती स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
कोभिडको महामारीमा अन्य रोगीहरूले उपचार सेवा नपाउने अवस्था भएपछि झापामा ननकोभिड विरामीहरूका लागि टेलिमेडिसिन सेवा सञ्चालन गरीरहेको मेची अभियानले मेचीनगर नगरपालिका र बुद्वशान्ति गाउँपालिकालाई ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको अभियानका संयोजक विजय डालमियाले बताए ।
डालमियाका अनुसार मेचीनगर नगरपालिकाले सञ्चालन गरिरहेको धाइजनस्थित स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा एउटा तथा मेचीनगर–१० धुलावारीस्थित आम्दा मेची अस्पताललाई दुईवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।
यसैगरी, बुद्वशान्ति गाउँपालिकाद्वरा सञ्चालित महिला सामुदायिक भवनमा रहेको आइसोलेशन वार्डलाई समेत दुईवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदयकुमार पनेरु, आम्दा मेची अस्पतालका डाक्टर पोषणरमण त्रिपाठी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, अभियानका परिकल्पनाकार काँग्रेसका प्रवक्ता शर्मा, संयोजक डालमिया, सदस्यहरु उमेश सुवेदी पुष्पराज पौडेल लगायतले ती सामग्री हस्तान्तरण गरेको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
बुद्वशान्ति गाउँपालिकामा काँग्रेसका प्रवक्ता शर्मा, संयोजक डालमियाले गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीलाई प्रदान गरेका थिए ।कार्यक्रममा काँग्रेस गाउँ सभापति चक्र शेर्मा, जनप्रतिनिधिहरु, संघसंस्थाका प्रमुख, प्रतिनिधि, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
मेची अभियान र केएचडीसीको सहकार्यमा मेचीनगर नगरपालिका पनि जोडिएको छ । उपचार अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य, आवश्यक सावधानी र सतर्कता सम्बन्धि समन्वयका लागि कोभिडसँगै ननकोभिडलाई सघाऔँ अभियान सुरु गरिएको शर्माले जानकारी दिए ।