
दमक, ४ असार । दमकमा नीजि क्षेत्रको पहलमा भेन्टिलेटर खरिदको पहल थालिएको छ । दमक उद्योग बाणिज्य संघ दमकको अगुवाईमा कोभिड–१९ लगायतका गम्भिर प्रकृतिका बिरामीहरुको उपचारका लागि भेण्टिलेटर खरिदको प्रक्रिया अघि बढाईएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । संघले भेण्टिलेटर खरिद सम्बन्धी बुधबार आफनै कार्यालयमा सर्वपक्षीय छलफल गरि त्यस्तो जानकारी दिएको हो ।
उनका अनुसार संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा भेण्टिलेटर खरिद उपसमिति गठन गरि तत्काललाई ५ वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको हो ।संयोजक प्रसार्इंले संघले भेण्टिलेटर खरिदका लागि रु १ लाख ५१ हजार रुपैयाँ सुरुवाती रकम जम्मा गरेपछि अन्य ब्यवसायी तथा सर्वसाधारणबाट रकम संकलनको काम थालिएको बताए । त्यसका लागि हालसम्म समितिमा रु १० लाख ५२ हजार रुपैयाँ जम्मा भईसकेको छ ।
प्रसाईं संयोजकत्वको समितिले बिज्ञहरु सम्मिलित अन्य उपसमिति समेत गठन गरि भेण्टिलेटर खरिदको लागी प्रक्रिया अघि बढाईएको उनले जानकारी दिए ।
जसअन्तर्गत औषधि व्यवासायी संघ झापाका अध्यक्ष गौतम गुप्ताको संयोजकत्वमा चिकित्सक र ईन्जिनियर सहितको बिज्ञ समिति र उद्योग बाणिज्य संघ दमकका कार्य समिति सदस्य भरत चौलागाईं संयोजक रहेको भेण्टिलेटर खरिदका लागी अध्ययन तथा समन्वय उप समिति गठन गरेर खरिदको लागी सुझाव लिईरहेको संयोजक प्रसार्इंले बताए ।
भेण्टिलेटर खरिद कार्य यहि असार भित्रमा भेण्टिलेटर ल्याउने गरी प्रक्रिया अगाडी बढाईएको छ । उनले कोरोना संक्रमणको जोखिम अझै नहटेको र भोलि आइपर्ने चुनौतीलाई मध्यनजर गरि भेण्टिलेटरको खरिद कार्य अघि बढाइएको बताए । उनले भने ,–‘ विपतीसंग जुध्दै नगरवासीहरुबाट स्वेच्छिक सहयोग जुटाएर भेण्टिलेटर खरिद गर्न जुटेका छौं, यसमा सवैको सहयोगको अपेक्षा राखेका छौं ।’
हाल दमकमा सरकारी र नीजि क्षेत्रका अस्पतालहरु गरि जम्मा १४ जना भेण्टिलेटर रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।