दमक जेसीजको वित्तीय साक्षरता तालिम

दमक,२ असार । दमक जेसीजको आयोजनामा शुक्रबार वित्तीय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ । दमक नगरपालिका वडा नं ६ को वडा कार्यालयको वडाध्यक्षसँग व्यवसायी कार्यक्रम अन्तर्गत व्यवसायी तथा वित्तीय क्षेत्रमा कार्यरत तथा अध्ययनरत व्यक्तित्वहरु समेतको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित सो तालिम कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष थापाले व्यवसायीहरुलाई वित्तीय कारोबार सम्बन्धी ज्ञानको अभावमा दिनानुदिन भोग्नु परिरहेको समस्या र बिद्यमान आर्थिक अवस्थाका बारेमा समेत सुसुचित गराएर आवश्यक रणनीति तय गर्न सहज होस भन्ने हेतुले यो कार्यक्रममा सहयोग पुरयाएको बताए ।
दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको सभापतित्वमा आयोजित तालिममा अर्थशास्त्रका जानकार तथा प्राध्यापक सुजन कोइरालाले सहजीकरण गरेका थिए । उनले मानिसको दैनिक कृयाकलापमा आर्थिक कारोबारको महत्व , मूल्यबृद्धिको प्रभाव , बिद्यमान आर्थिक अवस्था र व्यवसायी तथा आम उपभोक्ताहरुले अपनाउनु पर्ने रणनीतिहरु लगायतका बिषयमा आवश्यक सहजीकरण गरेका थिए । तालिम उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी ,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले पनि शुभकामना मन्तव्यसहित यो कार्यक्रम महत्वपूर्ण र समय सापेक्ष रहेको चर्चा गरे । सो अवसरमा कार्यपालिका सदस्य गौतम गुप्ता, विणा शाह, वडा सदस्यहरु डेन्जोङ लामा, कमला बस्नेत खाती लगायत जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।
तालिममा सहभागीका रुपमा व्यवसायीहरुका अतिरिक्त बिद्यार्थी, बैंक तथा सहकारीका कर्मचारी, सञ्चालक लगायत थिए । कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव रामचन्द्र अधिकारी ( आरसी)ले गरेका थिए भने कार्यक्रम संयोजक पुजन चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.