इलाम, ३ असार ।चट्याङ लागेर आज बिहान इलाम नगरपालिका–९ भञ्ज्याङमा एक जनाको मृत्यु भएको छ । नगरपालिका–९ का ३६ वर्षीय सुनिल गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बिहान साढे ६ बजेतिर पानी परिरहेका बेला परेको चट्याङले भान्सा कोठामा काम गरिरहेका गोलेलाई लागेको थियो । चट्याङबाट बेहोस भएका गोलेको उपचारका क्रममा इलाम अस्पतालमा केही बेरअघि अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मेचीनगरमा एक हल राँगा मर्यो
चट्याङले लागेर झापाको मेचीनगरमा एक हल राँगा मरेको छ ।आज बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं।३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिराखेको दुईवटा राँगा अबिरल बर्षासंगै परेको चट्याङ लागेर मरेको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको छ । चट्याङले लागेर सोही गोठमा बाँधिराखेको एउटा माउ भैसीको देब्रेपट्टिको करङमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै हिजो राति परेको चट्याङले लागेर बिर्तामोड ९ नरियावारी बस्ने झालो राजवंशीको बिजुलीको मिटरबक्समा क्षति पुगेको छ । राति २ बजेतिर परेको चट्याङले लागेर राजवंशीको विजुलीको मिटरबक्स , टीभी , फ्रिजको वाइरिङ र वाइफाइको राउटरमा क्षति पुगेको र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।