झापा ,२ असार । सहकारी व्यवस्थापक क्लब झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले चुनिएका छन् । बिर्तामोडमा शनिवार सम्पन्न संस्थाको प्रथम अधिबेशनबाट बगालेलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । उनी मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तै संस्थाको उपाध्यक्षमा निलकण्ठ निरौला (कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाका दमक ), महासचिवमा सन्तोषकुमार श्रेष्ठ (सतासी बहुउद्देश्यीय बिर्तामोड ) र कोषाध्यक्षमा तुलसा कुँवर (प्रज्वला अपांग तथा महिला बहुउद्देश्यीय अर्जुनधारा ) चुनिए भने सदस्यहरुमा तिलकबहादुर कार्की (शुभलक्ष्मी बहुउद्देश्यीय गौरादह), मानस सिटौला (मेचीनगर साकोस मेचीनगर) , कृष्ण ढुंगाना (भद्रपुर साकोस भद्रपुर ) , अनिता गुरागाई (मेची मासु उत्पादक सहकारी काँकडभिट्टा) ,लीलानाथ रेग्मी (शिखर साकोस बिर्तामोड) , विष्णुप्रसाद चुडाल (साना बहुउद्देश्यीय कन्काई ) र विवेक राई (चौतारी साकोस झिलझिले ) रहेका छन् ।
नयाँ नेतृत्व चयन गर्न बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा तीन सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।
जसको सदस्यहरुमा गोपाल काफ्ले र दुर्गा खतिवडा रहेका थिए । अधिबेशनको राष्ट्रिय सहकारी महासंघका सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए । अधिबेशनमा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य महेन्द्र गिरी , लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेती , प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई ,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।