झापा, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा आफूलाई थाहा नै नहुने गुनासो गरेका छन्।कांग्रेस झापा जिल्ला कार्यसमितिको सोमबार जिल्लाको बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित बैठकमा बोल्दै महामन्त्री शर्माले आफू झापा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य भएको मात्र नभएर पार्टीको जिम्मेवार व्यक्ति भएकाले पनि सरकारका मन्त्रीहरुले समन्वय गर्नुपर्ने खाँचो रहेको विचार राखे।
झापामा आफ्नो निर्वाचन क्षेत्र मात्र कांग्रेसले जितेको र त्यसलाई पनि समाप्त पार्नुपर्छ संकुचित सोचाइले अहिलेका सरकारका एक मन्त्री आफ्नो निर्वाचन क्षेत्रमा गएर भ्रम छर्ने काम गरिएको उनको भनाइ थियो।उनले भने,–‘ मन्त्री ज्यूहरू यहाँ आउँदा खबर पाउन सके हुन्थ्यो । जनताको काम गर्ने हामी जनप्रतिनिधिहरू बीचमा समन्वयमा हुनुपर्छ । ’महामन्त्री शर्माले दलीय रुपमा कांग्रेस सत्तामा एमालेसँगै रहेकाले पनि एउटा मन्त्री, सभामुख आउँदा समन्वय हुनु पर्ने उल्लेख गरे ।
उनले पार्टीको १५ औं आसन्न महाधिवेशन र तिनै तहको निर्वाचन सँगसँगै हुने भएकाले पनि कांग्रेसमा हरेक कार्यकर्ताहरूको जिम्मेवारी महत्वपूर्ण रहने र त्यसमा लाग्न निर्देशन दिए ।पार्टी र संसदीय चुनाव लोकतान्त्रिक विधि अनुसार नै हुने र त्यसलाई सफल बनाउन कांग्रेसको हरेक कार्यकर्ताहरू जनताको बीचमा जानुपर्ने जोड दिए ।कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई २०८३ भदौमा महाधिवेशन सम्पन्न हुने बताए ।
देशमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन गर्न कांग्रेसकै नेतृत्वबाट सम्भव भएको चर्चा गर्दै उनले अब प्राप्त अहिलेको व्यवस्थालाई संरक्षण गरी हरेक नेपालीको अवस्थामा परिवर्तन ल्याउन फेरि देशको नेतृत्व पनि अब कांग्रेसले लिनुपर्ने आवश्यक भएको जिकिर गरे।
कांग्रेस झापाका सभापति देउमान थेबेको अध्यक्षतामा भएको बैठकमा कांग्रेसले सञ्चालन गरेको क्रियाशील नवीकरण कार्य सात दिनमै सकेर केन्द्रमा बुझाउने, असार १५ धान दिवस यस वर्ष पनि विविध कार्यक्रम गरी मनाउने तथा जिल्ला पार्टी कार्यालय पुननिर्माण गर्न पार्टी कोषाध्यक्ष जलकुमार गुरुङको संयोजकत्वमा निर्माण समिति गठन गरी काम अघि बढाउने निर्णय भएको पार्टी जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिए ।