प्रादेशिक आयुर्वेद अस्पताललाई पूर्ण रुपमा सञ्चालन गरिदै

दमक, १ असार । झापा, कमल गाउँपालिका ७ मा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई थप स्तरनन्ति गरिने भएको छ । कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ५० शय्या क्षमताको प्रादेशिक आयुर्वेद अस्पतालका रूपमा स्तरोन्नति गरिने उल्लेख छ । प्रदेशमा आयुर्वेद शिक्षण अस्पतालको सम्भाव्यता अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
अस्पतालका निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार यस अस्पताललाई प्रदेशकै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालका रूपमा विकास तथा विस्तार गर्नका लागि प्रयास सुरु भएको छ । अस्पतालमा आधारभूत सेवासमेत प्रदान गर्न नसकिने अवस्था रहे पनि अहिले पञ्चकर्म र ल्याब सेवा सुरु गरिएको उनले जनाएका छन् । उनले आयुर्वेद उपचार पद्धतिमा जनविश्वास धेरै भएकाले जनविश्वासलाई मर्न दिनुहुँदैन भनेर काम गरिरहेको बताए । आर्थिक वर्ष २०६७-६८ मा तीन हजार स्थानीय बासिन्दाले हस्ताक्षर गरेर यहाँ आयुर्वेद अस्पताल बनाउन माग गरेका थिए । २०७५ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवन शिलान्यास गरेका थिए ।
कुल २० करोड रुपियाँ लागतमा लिफ्टसहितको सुविधासम्पन्न भवन बने प्रयोग हुने गरी अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन् ।
सो अस्पताल भवनको २०७८ असार २५ मै निर्माण पूरा भएको थियो। अस्पताल निर्माणका लागि स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्व मणिकुमार भण्डारीलगायत छ जना दाताले लाखौ मूल्य पर्ने दुई बिघा एक धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए । अस्पताल निर्माण सम्पन्न भए पनि पूर्ण रूपमा सञ्चालनमा नआएकोमा जग्गादाताले चिन्ता प्रकट गरेका छन् । अस्पताल सञ्चालनमा सहयोग पु¥याउन चाहिने अस्पताल विकास समिति वा सञ्चालक समिति पनि बनेको छैन् । अहिले पनि हामी चौबिसै घण्टा आकस्मिकलगायतका सेवा सञ्चालन गर्ने अवस्थामा नरहेको डा. ठाकुरले बताए ।
दुई सातादेखि पञ्चकर्मसहितका कतिपय सेवा पनि सुचारु गरिएको बताउँदै उनले अस्पताल सञ्चालनमा आएको १० महिना भइसकेको भए पनि बजेट र जनशक्ति अभाव हुदाँ नियमित सेवा पहुँचमा नै असर पुगेको बताए ।
प्रादेशिक आयुर्वेद अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्न र शिक्षण अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारसँग माग गरिएको प्रदेश सभा सदस्य होमबहादुर थापाले बताए । “नीति तथा कार्यक्रममा समावेश भएको छ। त्यही रूपमा यसलाई विकास गर्ने सोच रहेको छ,” उनले भने, “जडीबुटी खेती गरेर यहाँका उपभोक्ता तथा स्थानीयवासीलाई जोड्नका लागि पनि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्छ भनेर कुरा उठाएका छौँ।”
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईका अनुसार अस्पताल सञ्चालन भए पनि पालिकालाई कुनै जानकारी नभएको बताए । प्रभावकारी आयुर्वेद सेवाका विषयमा सचेतना फैलाउनुपर्ने बताउँदै उनले स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published.