
गौरीगञ्ज,३१ जेठ । झापाको गौरीगञ्ज गाउँपालिकाका जनप्रतिनिधिले आगामी बजेट परिणाममुखी र महिलामैत्री बजेट ल्याउन गाउँपालिकाले तयारी गरिरहेको बताएका छन् ।
रिपोर्टस क्लब नेपाल मेची शाखाले सोमबार गाउँपालिका सभाहलमा आयोजना गरेको नयाँ बजेट र अबको प्राथमिकता बिषयक साक्षात्कार कार्यक्रममा बोल्दै सहभागी जनप्रतिनिधिले सो कुरा बताएका हुन् ।
कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वार्ड अध्यक्ष र सदस्यहरूले गौरीगञ्जको समग्र बिकासका लागि आगामी बजेट परिणाममुखी र ठोस योजनाका साथ आउने र खासगरी महिलामैत्री बजेटलाई प्राथमिकतामा राखिने बताए ।
गाउँपालिका अध्यक्ष फूलवती राजबंशीले बिकासको सम्भावना भएर पनि लामो समय देखि पछाड़ी पर्दै आएको यो क्षेत्रको समग्र बिकासको लागि गहन अध्ययन गरेर जनमुखी बजेट ल्याइने बताइन ।
उनले बिकासको नाममा बाटो र पुल बनाउनु मात्र अब बिकास नभएको बताउदै बिकासको मोर्डललाई नागरिकको जिवन स्तरसंग जोडेर मानबीय बिकासका लागि आवश्यक पर्ने स्रोत साधनको ब्यवस्थापन र संचालनको पूर्व तयारीको साथ बजेट आउने बताइन । उनले यो क्षेत्रमा कृषि बजार आवश्यक भएको बताउदै यो बजेटमा कृषि बजारको तयारी गरिएको सुनाइन ।
अध्यक्ष राजबंशीले यस अघि गाउँपालिकाले पुरा गर्न बाकी रहेका योजना र कार्यक्रमलाई पुरा गर्दै आगामी ५ बर्ष भित्रमा गौरीगञ्ज गाउँपालिकालाई नमूना गाउँपालिकाको रूपमा बिकास गर्ने गरी बजेट जनमुखी र आवश्यकताको आधारमा योजना र कार्यक्रम सञ्चालन हुने बताइन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँँरले गाउँँपालिका भित्र देखिएका स्वास्थ्य,शिक्षा,पुल, तटबन्धन,बेरोजगार र आवश्यकताको आधारमा हुने बिकास निर्माणलाई प्राथमिकतामा नै राखिने बताउदै अबको बजेटमा सुन्ने नभइ देख्ने बिकास गर्ने गरी बजेट आउने बताइन् । उनले महिलालाई प्राथमिकतामा राखेर महिला लक्षित कार्यक्रम अबको बजेटमा समाबेश हुने बताइन ।
कार्यक्रममा सहभागी वार्ड अध्यक्षहरूले अबको बजेट फरक र परिणाममुखी आउनु पर्नेमा जोड दिएका थिए ।
उनीहरूले स्थानीय परिबेश र आवश्यकताको अध्ययन नगरी बिगतमा बजेट तर्जूमा हुने गरेको प्रति ध्यानाकर्षण गराउदै पहिलो आवश्यकता र जनताको मागलाई सम्बोधन हुने कार्यक्रम बजेटमा आउनु पर्ने बताएका थिए ।
कार्यक्रममा वार्ड नम्बर १ का वार्ड अध्यक्ष कातिकलाल राजबंसी,वार्ड नम्बर २ का अध्यक्ष किनालाल राजबंशी,वार्ड नम्बर ३ का अध्यक्ष श्रवण गिरी,वार्ड नम्बर ४ का फिका गिरी, वार्ड नम्बर ५ का बिजय प्रसाद गनगाई,वार्ड सदस्य रिता तामाङ पत्रकारहरू आत्मराम राजबंशी,राजेन्द्र चम्लागाई लगायतले आ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रम शुरू हुनु अघि गाउँपालिका भित्र देखिएका समस्याको समाधानमा अबको बजेटले समेत्नु पर्ने मुख्य बिषयहरूको बारेमा भिड़ियो रिपोर्ट प्रस्तुत गरिएको थियो ।जनप्रतिनिधि, पत्रकार र स्थानीय नागरिकको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की,प्रहरी निरीक्षक जितेस दाहाल लगायतको सहभागिता रहेको थियो ।