दमक ,३१ जेठ। नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले सञ्चालनमा ल्याएको ल्याब सेवा प्रभावकारी बन्दै गएको छ। गाउँघरमा नै सर्वसुलभ तथा गुणस्तरीय ल्याव सेवा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको ल्याब सेवा प्रभावकारी बन्दै गएको हो। अन्य ल्याब सेवाको शुल्क भन्दा अत्यन्तै न्यून शुल्कमा नै सेवा पुर्याउने लक्ष्यका साथ
सुरु गरिएको यस ल्याब सेवाप्रति स्थानीयहरूको मन जित्दै गएको रेडक्रसले जनाएको छ।
रेडक्रस लखनपुर उपशाखाका सभापति चन्द्र शाहका अनुसार ल्याब स्थापना यता यो सेवा लिने लक्षित वर्ग दिनानुदिन बढ्दै गएको हो। गत वैशाख ५ गते ल्याब सञ्चालनमा ल्याएको थियो। ल्याब सेवाको गाउँपालिका अध्यक्ष हुकुममसिंह राईले उद्घाटन गरेका थिए।
ल्याब सेवाकि कर्मचारी ल्याव टेक्निसियन डिकमाया भुजेलले वैशाखको तुलनामा जेठमा दोब्बर सङ्ख्यामा सेवा लिएका छन्। उद्घाटनका दिन ३७ जनाले ल्याब सेवा लिएका थिए भने बैशाख ७ गते नियमित रुपमा सुरु गरिएको ल्याब सेवामा गत वैशाखमा ६३ जनाले सेवा लिएका उनले जानकारी दिइन्। यता चालु जेठ महिना को २८ गतेसम्म १३० जनाले सेवा लिएका छन् ।
कमल-५ स्थित रेडक्रसको आफ्नै भवनमा सञ्चालित ल्यावसेवा सनिबार बाहेक प्रत्येक दिन बिहान ७ बजेदेखि २ बजेसम्म सेवा उपलब्ध हुदै आएको छ । आफ्नै गाउँ ठाउँमा यस किसिमको सेवा पाउन थालेपछि स्थानीयले अन्यत्र गएर रगत तथा पिसाब परीक्षण गर्नुपर्ने समस्याबाट थोरै भएपनि आफूहरुले राहत पाएको कमल -७ का लुखीराम हेमरमले बताए ।
मानवीय सेवामा समर्पित रेडक्रसले नाफारहित सेवा पुर्याउन ल्याब परीक्षण सेवा सञ्चालनमा ल्याइएको सचिव पारसमणि राईले जानकारी दिए । ल्याब सेवा सञ्चालनका लागि स्थानीय विभिन्न सहयोग पुर्याएका छन् । जिल्लाकै उत्कृष्ट उपशाखाको रुपमा परिचित लखनपुर रेडक्रसले छोटो समयमा नै सुविधा आफ्नो सुविधा सम्पन्न कार्यालय भवन तथा बिरामीहरूको लागि एम्बुलेन्स सेवा नियमित रुपमा सञ्चालनमा ल्याउन सफल भएको छ। जिल्लामा उपशाखामध्ये पहिलो पटक यस रेडक्रसले मानवीय सेवाको रूपमा ल्याब सेवा सञ्चालन गरेको हो।