दमक,३१ जेठ । झापाको कमल गाउँपालिका ५ मा निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति पार्कलाई संघीय सरकारले रु १ करोड रुपैया वजेट बिनीयोजन गरेको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै प्रस्तुत गरेको आर्थिक बर्ष २०८०-०८१ को नीति तथा कार्यक्रमसहितको वजेटमा यस रंगशालाको निर्माणका लागि रु १ करोड रुपैया बिनीयोजन गरिएको हो ।
रंगशालाका महासचिव दिपेनवाला राईले रंगशाला समिति तथा गाउँपालिकाको पहलमा उक्त वजेट छुट्टिएको बताए । रंगशालाको डिपीआरसहित घेराबेरा लगायतका संरचना निर्माण गर्न उक्त वजेट सरकारबाट बिनीयोजित भएको उनको भनाई छ ।
यसअघि समेत रंगशालाको निर्माणमा संघीय सरकारबाट पटक पटक गरि रु ३ करोड ५० लाख वजेट छुट्टिए पनि काम भने रु १ करोड ५० लाख जतिका भएका छन् ।२०६७ सालदेखि त्यहाँका आदिवासी जनजातिका ७ सय बढी चिहानहरु नष्ट गरि उनीहरुको स्मृतिमा आदिवासी रंगशाला निर्माण कार्य शुरु भएको थियो । तर पछिल्ला समय रंगशाला नामकरणका विषयलाई लिएर विवाद हुदाँ निर्माण कार्य अलपत्र हुन पुगेको थियो । गतवर्ष प्रदेश सरकारबाट छुट्टिएको रु १ करोड वजेट समेत काम नै हुन नसकि फ्रिज भएको थियो ।
रंगशालाका महासचिव राईका अनुसार संघीय सरकारको चालु वर्षको रु १० लाख रुपैयाको वजेटबाट रंगशालाको पूर्वतर्फ रहेको दाहसंस्कार स्थललाई व्यवस्थित गर्नका लागि प्रारिम्भक चरणका घेरोवेरा लगायतका संरचना निर्माणका काम भईरहेका छन् । त्यहाँ यसअघि समेत प्रदेशकै रु १० लाख वजेटबाट भने मलामी गृह तथा शौचालय समेत निर्माण गरिएको उनले बताए ।