
दमक,३१ जेठ । शिवसताक्षी नगरपालिका वडा नम्बर –६ ले शिवगञ्जका विपन्न महिलालाई नगरपालिकाले बाख्रा उपलब्ध गराएको छ । शिवगञ्जका ५० जना महिलालाई बाख्रा दिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।
सोमबार एक कार्यक्रमका बीच शिवगञ्ज महिला विपन्न बाख्रा पालन समूहमा आवद्ध विपन्न महिलालाई बाख्रा उपलब्ध गराइएको हो । दुई लाख, पचास हजार रुपैयाँ लागतमा सोही क्षेत्रका बाख्रा (पाठी ) खरिद गरी उपलब्ध गराइएको जनाइएको छ । विपन्न महिलाहरुलाई आर्थिकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएको अध्यक्ष कार्कीले बताए । बाख्रा वितरण कार्यक्रममा विपन्न बाख्रा पालन समहकी अध्यक्ष रानधन मुर्मु लगायत समूहका सदस्यको उपस्थिति रहेको थियो ।
शिवगञ्जमा आधुनिक कृषि बजार निर्माणमा थप बजेट
जिल्लाकै पुरानो मध्येको शिवगञ्ज बजारमा व्यवस्थित कृषि बजार निर्माण कार्यले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ६ शिवगञ्ज बजारमा गत बर्षदेखि व्यवस्थित कृषि बजार निर्माणको कार्य सुरु भएको हो ।
बजार निर्माणका लागि आर्थिक बर्ष २०७८÷७९ मा काम गर्ने गरी रु एक करोड ५० लाख रुपैयाँ संघीय सरकारबाट विनियोजन भएको छ ।
शिवगञ्ज बजारमा रहेको बृजेश्वर महादेव शिवालय मन्दिरको डेढ बिघा जमिनमा कृषि बजार निर्माणको कार्य सुरु भएको हो । बजारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) निर्माणका लागि चालु आर्थिक बर्षमा रु ३५ लाख रुपैयाँ विनियोजन भएको थियो ।
डीपीआरअनुसार बजारको पूर्वाधार निर्माणमा खर्च गर्न सशर्तअनुदान (पुँजीगत ) बाट आगामी आर्थिक बर्षमा रु एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको वडा नं ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । कृषि बजार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको र यसले जिल्लाको दक्षिणी ग्रामीण भेकका किसान खुसी भएको उनले बताए ।
कृषि बजार निर्माण पछि यस क्षेत्र शिवगञ्जसंगै पाँचगाछी, महाभारा, बैगुन्धुरालगायत क्षेत्रका किसानले समेत आफ्नो कृषि उपज विक्री वितरण गर्न सुविधा पाउने छन् ।