ताप्लेजुङमा पहिरोमा परी ४ जनाको मृत्यु, २ जना घाइते

ताप्लेजुङ ,३२ जेठ। पहिरोमा परी शुक्रवार विहान ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीया श्रीमती जसमाया लिम्बू रहेका छन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।
राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पुरिएका हुन् । सिंवा प्रहरी चौकी र मित्लुङ हाइड्रोपावरमा रहेको खटिएको नेपाली सेनाको टोलीसहित स्थानीयले पहिरोबाट शव निकालेको डीएसपी रावलले जानकारी दिए ।
त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीया छोरी घाइते भएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ । रेडक्रस सभापति इन्द्र गुरुङका अनुसार पहिरोले युगेनको घरमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल लुंगेलीको नेतृत्वमा थप टोली परिचालन गरिएको डीएसपी रावलले जानकारी दिए । अहिले सदरमुकाम फुङलिङसहित जिल्लाका धेरै ठाउँमा वर्षा भइरहेको छ ।
बाढी पहिरोबाट सयभन्दा धेरै परिवार विस्थापित
संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ भने करिब १२५ परिवार विस्थापित भएका छन् ।
पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
प्रहरीका अनुसार खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा ११० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् ।
धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल पनि जोखिममा परेको छ । यस्तै खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पीडितहरु राहतको भन्दा पनि दिर्घकालीन समस्या समाधानको पर्खाईमा बसेका छन् ।
वर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै, चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्गअन्तर्गत मुढे–नुम र ठुलोढुंगा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।
उता अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । काठको पुल भएपनि गाडी, मोटरसाइलल र मानिस त्यसबैबाट आवतजावत गर्ने गरेका थिए ।
फक्तालुङ ५ का वडाध्यक्ष लिम्बूका अनुसार बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको छ । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्ने बताइएको छ ।
यस्तै सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको छ । तमोर थुनिएपछि त्रास बढेको उनले बताए । नदि थुनिएपछि ड्याम बनेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने थुनिएको तमोर अहिले खुलिसकेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.