प्रदेश १ को नाम जुराउन एमाले र कांग्रेसको सहमति

विराटनगर,२९ जेठ। नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रदेश १ को नामकरण यही अधिवेशनले टुंग्याउने गरि सहमति भएको छ।एमालेले बनाएको नामकरण सहजीकरण तथा समन्वय समितिको पहलमा कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसहित बसेको बैठकले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने सहमति भएको हो।

आइतवारको बैठकले यसै अधिवेशनबाट नामको विषय टुंगो लगाउने सहमति गरेको एमाले नेता एवम् सहजीकरण तथा समन्वय समिति संयोजक हिक्मत कार्कीले जानकारी दिए।

बैठकमा एमालेका तर्फबाट सहजीकरण समिति संयोजक कार्कीसहित सदस्यहरु जीवन घिमिरे,अर्जुन राई एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहभागी थिए।कांग्रेसका तर्फबाट संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई र प्रदेश सभा सदस्य लीला सुब्बासहित सहभागी थिए।

आइतवार कांग्रेससँग छलफल गरेको एमालेले भोलि र पर्सि अन्य दलहरूसँग छलफल गरि प्रदेश सरकारसँग नामकरणबारे छलफल तयारी गरेको कार्कीले बताए।‘आज कांग्रेससँग यसै अधिवेशनमा नाम टुंगो लगाउनेबारे सहमति भएको छु, उनले भने, भोलि अन्य दलहरूसँग बसेर सहमति खोज्छौँ, त्यसपछि सरकारसँग बस्ने योजना छ।’

सुरुवाती छलफलमा प्रदेशको नाम यसै अधिवेशनबाट टुंगो लगाउने सहमति खोज्ने र दोश्रो चरणमा कुन नामलाई सर्वमान्य बनाउनेबारे छलफल हुने एमालेले जनाएको छ।संयोजक कार्कीका अनुसार साझा नाम र साझा सहमतिको आधारमा प्रदेशको नामकरण पहल हुनेछ।

नेपाली कांग्रेसका प्रमुख सचेतक राईले यही अधिवेशनबाट नामको विषय टुंगोमा पुर्‍याउने एमाले र कांग्रेसबीच सहमति भएको बताए। पहिला दलबाट के नाम राख्ने भनेर छलफल गरिने र यसैका आधारमा अरु दलसँग पनि छलफल थाल्ने सहमति भएको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.