
दमक,२९ जेठ । मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आजदेखि दमक- ६ स्थित जेसीज चौकमा नयाँ व्यवस्थापनका साथ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
मोरङमा उत्कृष्ट सहकारीका रुपमा स्थापित उक्त सहकारीले दमकमा बैद्धिक विधि अनुसार पुजा अर्चना गरि औपचारिक रुपमा सेवा केन्द्र उदघाटन गरिएको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए । सेवा केन्द्र उद्घाटनमा संस्थाका अध्यक्ष गोपाल भट्टराई ,सञ्चालक ,शेयर सदस्य,कर्मचारीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
यसअघि संस्थाले मोरङकै पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । वैशाख दोश्रो सातादेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएर कारोबार शुरु गरेको भएपनि यसको औपचारिक उदघाटन भने आज गरिएको कार्यकारी प्रमुख पौडेलले जनाए । उनले सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै सेवा केन्द्र स्थापनासंगै सदस्य केन्द्रीत सेवाहरु प्रदान गरिआएको बताए ।
दमकमा एक हजार सदस्य
१० हजार भन्दा बढी सदस्य संख्या रहेको सो संस्थाको दमक सेवा केन्द्र मातहतमा एक हजार भन्दा बढी सदस्य रहेका जनाइएको छ ।
कल्याणकारी योजना
संस्थाले नियमित बचत तथा ऋणको कारोबारलाई अघि बढाउँदै सुदर्शन शेयर सदस्य कल्याणकारी योजना ल्याइएको संस्थाका अध्यक्ष गोपाल भट्टराईले बताए । सो योजना अन्तर्गत शेयर सदस्यहरुका लागि सन्तान प्राप्ती खुशीयाली योजनामा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा २० हजार, शल्यक्रिया राहत योजनामा ७ हजार, अङगभङग राहत योजनामा २ लाख, अशक्त राहत योजनामा २५ हजार, स्वास्थ्य सुधार योजनामा एक लाख, छात्रवृत्ति योजनामा १० हजार र मृतक राहत योजनामा ४५ हजार सम्मको काजक्रिया खर्च प्रदान गर्ने स्किमहरु ल्याइएको कार्यकारी प्रमुख पौडेलले बताए ।