पथरीशनिश्चरे ,२९ जेठ । किरात याक्थुङ चुम्लुङ ईजरायल समितिले पथरी शनिश्चरेका लिम्बू भाषा शिक्षण गर्दै आएका २ वटा विद्यालयका विद्यार्थीहरुलाई लिम्बू भाषामा पाठ्यपुस्तक उपलब्ध गराएको छ।भाषा संरक्षण गर्ने उद्देश्यले पथरीशनिश्चरे नगरपालिकाका चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्म र भगीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे -४ का कक्षा १ देखि कक्षा कक्षा ५ सम्म अध्ययन गरिरहेका ३ सय ६३ विद्यार्थीहरुका लागि पाठ्यपुस्तक उपलब्ध गराइएको हो ।
किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ ईजरायलबाट प्राप्त रकमले खरीद गरी ती पाठ्यपुस्तक आज एक कार्यक्रमका बीच वितरण गरिएको थियो । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापो, किरात याक्थुङ चुम्लुङ संघीय सदस्य सन्तोष सेरेङ,याक्थुङ चुम्लुङ ईजरायलका अध्यक्ष नुमा काङ्वाको आमा ईन्द्रमाया लिम्बुको हस्त बाहुलीबाट विद्यार्थीहरूलाई पुस्तक हस्तान्तरण गरिएको थियो ।
पाठ्यपुस्तक वितरण कार्यत्रmममा बोल्दै किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष प्रेम बहादुर पयाङ्गु लिम्बूले सरकार र स्थानीय निकायबाट भाषा संरक्षणका लागि कुनै प्रभावकारी पहल नभएको गुनासो गरे । हाल पथरी शनिश्चरेका २ वटा विद्यालयमा २ जना शिक्षकले भाषाको अध्यापन गराईरहेको उल्लेख गर्दै सहयोगी शिक्षकलाई सन्तुष्ट हुने गरी तलव भत्ता नदिएको र नगरस्तरबाट अनुगमन फितलो भएको उनको भनाई थियो ।
सोहि अवसरमा नगर प्रमुख तुम्वापोले भाषा संरक्षणका लागि किरात याक्थुङ चुम्लुङ समितिले गरेको कामको प्रशंसा गर्दै पछिल्लो अवस्थामा केन्द्रीय सरकारबाटै बजेट कटौती भएकोले अपेक्षा गरे बमोजिम काम हुन नसकेको बताए । उनले भाषा संरक्षणका लागि नगरपालिका गम्भीर रहेको भन्दै सबै भाषालाई जगेर्णा गर्न अवको आर्थिक बर्षबाट नयाँ कार्ययोजना साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
हाल लिम्बू भाषा अध्यापन गराउदै आएका शिक्षकले मासिक तलव भत्ता वापत ६ हजार र १० हजार पाउदै आएका छन् भने तलव बृद्धि गरी १५ हजार पुर्याउन नगरसँग पहल गरिरहेको नगर अध्यक्ष लिम्बूले बताए। भाषालाई जिवन्त बनाउन काम गरिरहेको सो समितिले हाल कक्षा ७ सम्म अध्यापन गराउँदै आएको छ। उक्त भाषालाई कक्षा ८ सम्म लैजाने काम आउँदो शैक्षिक कार्यक्रमभित्र समावेश गर्ने पहल गरेको छ ।