पाठेघरको मुखको क्यान्सर र यसको उपचार

-डा. लेखनाथ न्यौपाने
महिलाहरुमा सबै भन्दा धेरै देखिने क्यान्सर पाठेघर क्यान्सर हो त्यसमा पनि पाठेघरको मुखको क्यान्सर सबै भन्दा धेरै देखिएको छ । पाठेघरका तीन भाग(मुख, बिचको ठूलो भाग र सिरानको भाग) सर्भिक्स, बडी र फुन्ड्स मध्ये मुख(सर्भिक्स) योनीसँग जोडिएको हुन्छ । यसै भागबाट क्यान्सर जन्य कोषहरु फैलिएर अन्य भागम पुग्दा पुरै पाठेघरमा क्यान्सर पैmलिन सक्छ । ह्युमन पेपिलोमा भन्ने भाइरसको संक्रमणका कारण महिलाहरुको पाठेघरमा धेरै क्यान्सर हुनेगर्छ । यो भाइरस सर्नुको मुख्य कारण सानैमा विवाह गर्नु, धेरै सन्तान जन्माउनु, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, भाइरस विरुद्धको खोप नलगाउनु, कुनै समस्या भए बेलैमा नजचाउँनु या रोग लुकाएर राख्नु र सबैभन्दा धेरै सम्भावना भनेको एक भन्दा धेरै पुरुषसँग असुरक्षित यौन सम्पर्क राख्नु हो ।

ह्युमन पेपिलोमा भाइरस प्रवेश गरेको केहि दिन या केहि वर्षमै यसले क्यान्सर उत्पन्न गर्दैन । १५ देखि २० वर्षमा मात्र यसले रोग निम्ताउने हुँदा कम्तिमा २ वर्षमा पाठेघरको पानीको जाँच गराउनु सबै भन्दा राम्रो बच्ने उपाय हो । यो जाँच हरेक ठूला अस्पतालमा गरिन्छ र धेरै खर्चिलो पनि हुदैन् । यो भाइरसबाट क्यान्सर उत्पन्न हुने उमेर ४५ वर्ष नाघेका र ६० वर्ष विचमा धेरै देखिएको भए पनि अन्य उमेर समुहमा पनि देखिएको छ । क्यान्सर रोग फैलिने स्टेजहरु भए जस्तै पाठेघरको मुखको क्यान्सरमा पनि स्टेजहरु हुन्छन् ।यसको प्रथम अवस्थामा कुनै पनि लक्षणहरु हुदैनन् । दोस्रो अवस्थामा भने योनीबाट पानी बग्ने, ढाड कम्मर दुल्ने, कमजोरी महशुस हुनेगर्छ । तेस्रो अवस्थामा भने माथिका लक्षणसँगै तल्लो पेट दुख्ने, भारी हुने, कमजोरी वढेर जाने, भोक हराउने, क्यान्सर कोषहरु अन्यत्र फैलिएर जाने, ज्वारो आएको महशुस हुने, जण्डिस र रक्तअल्पता देखापर्ने, वान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण क्रमश वढेर जानेगर्छ । यो अवस्थामा पनि सहि जाँच र उपचार नभएमा चौथो स्टेज पुग्दा पुग्दै विरामीको मृत्यु हुन्छ । अन्तिम अवस्थाम भने क्यान्सर कलेजो, फोक्सो अनि हड्डीसम्म फैलिन्छ । यो प्रकृयालाई मेटास्टेसिस भनिन्छ ।

पाठेघर क्यान्सर हुनबाट बच्न या भएको भए पनि के कारण बाट भएको रहेछ भनेर पत्ता लगाउन पाठेघरको पानीको(प्याप स्मेयर) जाँच अथवा भिआइए जाँच पनि हो । यी दुबै प्रकारका जाँचको एउटै परिणम हो र यी दुवै जाँच नेपालका धेरै अस्पतालहरुमा गर्ने गरिन्छ । भिआइए र प्याप स्मेयर परिक्षणबाट भाइरसको असर कति भनेर देख्न पनि सकिने हुँदा समय समयमा यसको जाँच गराएमा उपचार सहज र कम खर्चिलो हुन्छ । हाल नेपालमा पनि ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप लगाइने गरिएको छ । र यदि क्यान्सर भई हालेमा नेपालमै सबै खाले क्यान्सरको उपचार हुनेगरेको छ । यसमा नेपाल सरकारले आर्थिक सहयोग पनि गर्दै आएको छ ।

बचावट र उपचार : विवाह पहिलानै महिलाले यस विरुद्धको खोप लगाउनु उचित हो । यो खोप १३ वर्ष भन्दा माथिका महिलाले लगाउनु पर्छ । यसरी नै विवाहित या अविवाहित महिलाले पनि कम्तिमा २ वर्षमा पाठेघरको पानीको जाँच गराउनु, धेरैजनासँग यौन सम्पर्क नराख्नु र आफु सधै निरोगी रहने प्रयत्न गर्नु सकारात्क विचारले पनि रोग निको पार्न सघाउछ । शुद्ध , पोशिला खानेकुरा खाने, प्रसस्त पानी पिउने । समय समयमा जाँच गर्ने र रोग पत्ता लागेमा समयमा नै क्यान्सर अस्पताल गएर उपचार गराउनु पर्छ । (लेखक, दमकका होमियो चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.