
दमक, २८ जेठ । पूर्वाञ्चल बहिरा संघ झापाको सहयोगार्थ दमकमा रमाइलो मिनी महोत्सव शुरु भएको छ । शुक्रवारदेखि शुरु भएको महोत्सव असार १३ गतेससम्म आयोजना हुने संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।
दमक ७ स्थित पशुहाटसंगैको मैदानमा शुरु भएको महोत्सवमा विभिन्न मनोरञ्जनात्मक खेल तमासा , विभिन्न किसिमका दुई दर्जन जति व्यवसायिक स्टलहरु रहने छन् । त्यस्तै, महोत्सव भरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरु तथा स्थानीय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने जनाईएको छ । महोत्सवको संयोजन गरिआएका प्रदीप रानाका अनुसार महोत्सवको पहिलोदिन आज चर्चित गायक निशान भट्टराईको प्रस्तुति रहने छ ।
त्यस्तै महोत्सव भरि दैनिक कलाकारहरु राजेशपायल राई, यवस थापा, डम्बर नेपाली, अस्मिता अधिकारी, तृष्णा गुरुङ, रचना रिमाल, कमल खत्री, धिरज राई, एलेक्स नेपालसंगै भारतीय चर्चित गायक प्रशान्त तामाङ र सुमित पलको समेत प्रस्तुति रहने छन् । महोत्सव अवलोकनका लागि रु १०० प्रवेश शुल्क तोकिएको छ । महोत्सवबाट संकलित रकम संघको कार्यसञ्चालनमा खर्च गरिने जनाईएको छ ।