शिवसताक्षी,२८ जेठ । झापाको शिवसताक्षी नगरपालिकाले चालु वर्षको तुलनामा आगामी आथिक वर्षको वडा सिलिङ बजेट घटाएको भन्दै नगरका पाँच वडा अध्यक्षले आपत्ति जनाएका छन् ।
आफुहरुलाई पाखा लगाएर नगर प्रमुख मेघाहाङ थोप्राले एकलौटी वडा सिलिङ बजेट निर्धारण गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चालु आर्थिक वर्षमा नगरले वडामा ७५ लाख वडा सिलिङ बजेट विनियोजन गरेको थियो । उक्त बजेट द्धारा संचालित योजना निर्माण सम्पन्नको अन्तिम चरणमा छन् ।
आगामी आर्थिक वर्ष ०८०-०८१ मा वडा सिलिङ बजेट ६० लाख मात्र विनियोजन गर्ने विषयले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै नगर प्रमुख थोप्रालाई वडा अध्यक्षले आईतबार ज्ञापन पत्र बुझाएका छन् ।
नगर प्रमुखको कार्यकक्षमा पुगेर वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपाने, वडा नम्बर ६ का मनोज खुलाल, ७ का भवानी चेम्जोङ, ८ का सन्तकुमार फेउदिन र वडा नम्बर ९ का डिल्ली फेम्फुले हस्ताक्षर गरेको ज्ञापन पत्र संयुक्त रुपमा बुझाएका थिए ।
वडा अध्यक्षले ज्ञापन पत्रमा संघीय तथा प्रदेश सरकारबाट स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्तहुने वित्तिय समानीकरण अनुदान तथा आन्तरीक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्ने कुरामा जोड दिएका छन् ।
शिवसताक्षी नगरपालिकाले आगामी आ।व। २०८०-०८१ को बजेट तथा कार्यक्रम तयार गर्ने क्रममा वडाहरुलाई सिलिङ्ग बजेट रु ६० लाख मात्र उपलब्ध गराएको वडा अध्यक्षले गुनासो गरेका छन् ।जेठ २४ गते पालिकाबाट गएको इमेलको पत्रवाटमात्र आफुहरुलाई वडा सिलिङ बजेट तय भएको बारे जानकारी भएको वडा अध्यक्ष भवानी चेम्जोङले बताए । ।