
दमक,२७ जेठ । नेपाली कांग्रेस दमकले नगरपालिकाले वितरण गरेको ज्येष्ठहरुका लागि कोरोना विरुद्धको भ्याक्सिन ( भेरोसेल ) लगाउने कार्य व्यवस्थित नभएको भन्दै ध्यानाकर्षण गराएको छ ।
६२ देखि ६४ बर्ष सम्मको उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउने कार्यमा लक्षित समूह वाहेकका र आफू नजिककालाई समेत समावेश गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
विहिबार नगरपालिका कार्यालयमा सञ्चालित खोप कार्यक्रममा कांग्रेस दमकको एक टोलीले स्वास्थ्य शाखा प्रमुख रामबृक्ष चौधरीलाई भेटेर खोप कार्य व्यवस्थित गरेर सञ्चालन गर्न आग्रह गरिएको पार्टी सभापति रोशन विष्टले जानकारी दिए । उनले सरकारले ६२ बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठलाई मात्र खोप लगाउने भनिएपनि दमकमा लक्षित समूह बाहेकका सर्वसाधारणले खोप लगाएको बताए । उनले खोपको सम्पूर्ण विवरण बुझाउन समेत माग गरिएको वताए ।
स्वास्थ्य शाखाले बुधबार ५ सय र विहीवार थप २ सय ५० बढी व्यक्तिलाई खोप लगाएको थियो । खोप कार्य अव्यस्थित बन्नुका साथै उत्तिकै भिडभाड संगै लक्षित समूह बाहेकका सर्वसाधारणले समेत खोप लगाएपछि पार्टीले पारदर्शी ढंगले खोप लगाउन अनुरोध मात्र गरेको सभापति विष्टले वताए ।
यसैवीच स्वास्थ्य शाखाले खोपको उपलव्ध मात्रा सकिएको भन्दै विहिबार विहान १२ वजेनै खोप कार्य सकिएको जनाएको छ । स्वास्थ्य शाखा प्रमुख चौधरीले सरकारबाट प्राप्त १३ सय खोपको डोज सकिएकाले कतिपय असन्तुष्ट ज्येष्ठहरुलाई खोप आएपछि लगाउने सूचित गरिआएको जानकारी दिए ।
खोप लगाउने कामका लागि नगरपालिकामा करिब १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रत्यक्ष रुपमा खटिएका थिए ।
सरकारले यस अघि ६० देखि ६५ बर्ष उमेर समुहका सबैलाई खोप लगाउने भनेपनि खोपको डोज पर्याप्त उपलब्ध नभएका कारण दोश्रो डोजको सुनिश्चितता गर्दै पहिलो चरणमा ६२ देखि ६४ बर्ष उमेर समूहका लागि पहिलो डोज लगाइएको हो ।