बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि चौधरीलाई

बिर्तामोड, २७ जेठ । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिपकुमार चौधरीले जितेका छन् ।कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शनिबार भएको प्रतिस्पर्धामा ओभरलमा ६५ किलो तौल समूहका चौधरीले उपाधि हात पारेका हुन् । उपाधिसंगै उनले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस गाईघाटबाट सहभागी भएका हुन् ।
यस्तै प्रतियोगितामा ७० किलो तौल समूहबाट केज टोटल फिट्नेस इलामका सनम लिम्बू दोस्रो, ७० किलो तौल समूहबाटै धरान फिट्नेसका संदिप गिरी तेस्रो, ५५ किलो तौल समूहबाट उर्लाबारीका धर्मराज खापुङ चौथो र ७० किलो तौल समूहबाट नेपाल पुलिस क्लब हेटौँडाका अजय मल्लिक पाँचौ भएका छन् । उनीहरुले क्रमशः २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
तौल समूहअन्तर्गत ५५ किलौ तौल समूहमा धर्मराज खापुङ पहिलो, प्रवित राजवंशी दोस्रो र दिवस श्रेष्ठ तेस्रो भए । यस्तै ६० किलो तौल समूहमा अजय मल्लिक पहिलो, विनोद कार्की दोस्रो र युवराज बस्नेत तेस्रो भएका छन् ।
यसैगरी ६५ किलो तौल समूहमा दिलिपकुमार चौधरी पहिलो, हर्कबहादुर राई दोस्रो र ओशन कार्की तेस्रो भए। यस्तै ७० किलो तौल समूहमा सनम लिम्बू पहिलो, मदनकुमार योङहाङ दोस्रो र सागर राई तेस्रो भएका छन् ।
७० किलो माथिको तौल समूहमा भने २ जना मात्रै सहभागी थिए । शुक्रवार सम्पन्न प्रि–जजिङमा ३ जना सहभागी भएपनि एक जना खेलाडी कोशी प्रदेश बाहिरको भएका कारण आउट भएका थिए । बाँकी रहेका २ जनामध्ये संदिप गिरी पहिलो र प्रसिद्व भक्त राई तेस्रो भएका छन् ।
विजेताहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी,आयोजक समितिका अध्यक्ष अर्जुन मैनाली, कार्यक्रम संयोजक राम दाहाललगायतले पुरस्कार प्रदान गरे । समूहगत रुपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि जनही १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो ।गत वर्ष सम्पन्न प्रथम मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि विकास तामाङले जितेका थिए ।

Leave a Reply

Your email address will not be published.