दमक,२७ जेठ । दमकमा सञ्चालित डेन्टल अस्पतालहरुले अनाधिकृत रुपमा सञ्चालन हुदैआएको गुनासो बढेपछि आन्तरिक राजस्व कार्यालयले यहाँका डेन्टल अस्पतालहरुको शुक्रवार अनुगमन गरेको छ ।
कर छली गरेको तथा संस्था नविकरण एवं उचित मापदण्ड समेत पूरा नगरि सञ्चालन गरिरहेको गुनासो आएपछि आन्तरिक राजस्व कार्यालय दमकले आधा दर्जन विभिन्न डेन्टल अस्पतालहरुको अनुगमन गरेको हो ।
अनुगमन टोलीले दमक ५ बेलडाँगी रोडमा रहेको ॐ शान्ति डेन्टल हस्पिटल, दमक ६ को निर्णायक रेफ्रेन्स ल्याब, दमक ६ मै रहेको आमा डेन्टल हस्पिटल, स्वर्ण पार्वती डेण्टल,ओरो डेन्टल, मनकामना डेण्टल, कोशी डेण्टल लगायतको अनुगमन गरिएको आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत माधव अधिकारीले जानकारी दिए । अनुुगमनका क्रममा स्वर्ण पार्वतीमा कारोबारको कुनै बिलनै नभेटिएको राजस्वका अधिकृत अधिकारीले बताए । बिल तथा भर्पाइ माग्दा धमिराले खाएको प्रतिकृया दिएको उनले सुनाए । ‘यस्तो प्रतिकृयाले आफुहरु नमान्ने अहिले सम्मको कारोबारको सबै बिल भर्पाई लिएर हप्ता दिन भित्रमा कार्यालयमै बोलाइएको र नआएमा आवश्यक कार्वाही गरिने छ ’ती अधिकृतले उल्लेख गरे ।
यस्तै दमक ६ थानारोडको मनकामना डेण्टल हस्पिटललाई आवश्यक कागजपत्र नपुग्दा अघिल्लै पटक बन्द गर्न भनिएको तर अहिले सम्म पर्याप्त कागजपत्र तयार पनि नगरेको र अस्पताल पनि सञ्चालन गरिरहेको पाइएको छ । सो अस्पताललाई तत्कालै बन्द गर्न भनिएको छ । ‘अस्पतालमा बिरामीमा कुनै समस्या भेटिएमा वा कुनै गुनासो आएमा तुरुन्तै पक्राउ गरि अस्पताल पूर्ण रुपमा सिल गर्ने गरिने चेतावनी पनि दिइएको छ ।
अन्य अस्पतालको अवस्था भने सामान्य रहेको अनुगमन टोलीले बताएको छ । सबैको बिल तथा रसिदहरु संकलन गरि कार्यालयमा लगिएको र अनुसन्धान पछि मात्रै अन्य अवस्था थाहा हुने उनले बताएका छन् । दमकमा तीन दर्जन बढी डेन्टल क्लििनक ,अस्पताल सञ्चालनमा छन् ।