
दमक,२७ जेठ । झापाको दमक ५ मा रहस्यमयी मृत्यु भएकी इलाम देउमाई नगरपालिका वडा नं ४ की सेजल कोइरालाको हत्या भएको भन्दै पीडित परिवारले सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन ।
उनको मृत्यु अप्राकृतिक किसिमको भएको दाबी गर्दै घटनामा सुक्ष्म अनुसन्धान गरेर दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै बुबा सरोज कोइरालाले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका हुन ।
मृतकका नातेदार मनिष खनालले सेजलको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानविनका लागि जाहेरी दिनु परेको वताए ।
उनले परिवारका तर्फबाट प्रहरीमा शंकास्पद मानिसहरुको नाम उल्लेख गरेरै जाहेरी दिएको उल्लेख गरे। खनालले प्रहरीबाट उनको मृत्युको प्रकृतिका बिषयमा फरक फरक कुराहरु आइरहेको भन्दै घटनाको प्रारम्भिक चरणलाई सुक्ष्म र गम्भिर ढंगबाट अनुसन्धान गरिनुपर्ने बताए । अस्पतालमा मृत्यु भएको हो वा उनको कोठामा नै मृत्यु भएको थियो ? हामीले शंका गर्नुपर्ने अवस्था देखिन्छ– खनाल भन्छन ।
दमक ५ स्थित एक घरमा भाडामा बसेर लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत कोइरालाको हिजो बुधबार साँझ नै मृत्यु भएको थियो ।
यसैवीच इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा थप अनुसन्धान अघि बढाइने बताए । उनलाई बुधबार बेलुकी करिब ५ बजे साथीले मोवाइलमा सम्पर्क गरेका थिए । उनको मोवाइल नउठेपछि साथीहरु कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेका साथीहरुलाई उदृत गर्दै प्रहरी नायव उपरिक्षक कार्कीले बताएका छन् ।
मृतक कोइरालाको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहिबार नै शव पोस्टमार्टम भएको छ । उनको आज बिहिबारनै झापास्थित कन्काई नदीमा दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।