पाँचथर,२६ जेठ । पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
समाजका सदस्यहरू तथा दाताहरूबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री समाजले जिल्लाका आठ वटै स्थानीय तहहरूलाई उपलब्ध गराएको हो ।
फिदिममा आयोजित कार्यक्रममा समाजका सचिव एवम स्वास्थ्य सामग्री वितरण समितिका संयोजक भूमिका सुब्बाले प्रमुख जिल्ला अधिकारी एवम जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक पुण्यप्रसाद ढकालमार्फत स्थानीय तहहरूलाई ती सामग्री हस्तान्तरण गरिन् ।
समाजले रु १३ लाख २६ हजार ५०० मूल्यका सामग्री उपलब्ध गराएको हो । समाजले जिल्लाका सात वटा गाउँपालिकाहरूलाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । समाजले एण्टिजेन किट सबै गाउँपालिकालाई ५० थानका दरले र फिदिम नगरपालिकालाई ३०० थान उपलब्ध गराएको छ भने सबै स्थानीय तहहरूलाई १५०० थानका दरले मास्क उपलब्ध गराइएको सुब्बाले जानकारी दिइन् ।
यस्तै समाजले जिल्लाका ६० वटै वडालाई पल्स अक्सिमिटर ,डिस्पोजेवल र रियुजेवल पीपीई ५० वटाका दरले उपलब्ध गराइएको जनाईएको छ । हालसम्म विभिन्न निकायबाट कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारात्मक व्यवस्था फिदिम केन्द्रीत भएको तर पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो सङ्क्रमणसँग जुध्न स्थानीय तहमा समेत थप तयारी आवश्यक देखिएकाले स्थानीय तह र सुरक्षा निकायलाई केन्द्रीत गरेर सहयोग गरिएको उनको भनाइ छ ।
समाजले काठमाण्डौँमा रहेका कमजोर आर्थिक अवस्थाका पाँचथरेली, उपचाररत, मृतकका परिवार तथा होमआइसोलेशनमा रहेकालाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउने योजना गराउन थालेको छ । समाजले हालसम्म ३६ घर परिवारलाई राहत रकम हस्तान्तरण गरिसकेको सुब्बाले जानकारी दिईन् । समाजले कोभिड–१९ सङ्क्रमणको महामारीमा ‘पाँचथरेली बचाऔँ’ अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म रु १८ लाख, १७ हजार १०५ सङ्कलन भएको समाजले जनाएको छ ।