
दमक,२६ जेठ । दमक नगरपालिकाले पूर्वाधार सेवा उपयोग शुल्क वापत लिइदै आएको शुल्क यसपटक पनि संकलनका लागि सूचना निकालेपछि त्यसको चौतर्फी आलोचना भएको छ । नगरपालिकाले सार्वजनिक सूचना निकाले लगत्तै नगरबासीले पूर्वाधार सेवा उपयोग शुल्कको विषयमा सामाजिक सन्जालमार्फत विरोध जनाउदैआएका छन् ।
नगर प्रमुख राम थापाले जारी गरेको सूचनालाई कतिपयले पटके कर बुझेको भन्दै यो पटके कर नरहेको बताएका छन् । पूर्वाधार सेवा उपयोग शुल्क उठाउने भन्ने यस अघिको नगरसभाले पारित गरेको कानुन अनुसार सूचना जारी भएको भन्दै वजार क्षेत्र प्रवेश गर्ने तथा बाटोमा बसेर असुल्ने पटके कर भने आगामी आर्थिक बर्षबाट भने नलिने उनले स्पष्ट पारे ।
यो पूर्वाधार सेवा उपयोग शुल्कलाई पटके करको रुपमा नबुझ्न आग्रह गर्दै उनले यो नगरसभाबाट पास भएको कानुनलाई नगर प्रमुख वा कसैको आदेसका भरमा हटाउन नसकिने समेत स्पष्ट पारेका छन् । नगरसभाबाट पास भएको बिषयलाई परिवर्तन गर्न नगरसभामै लगेर बहुमतबाट पास गर्नु पर्ने भएकाले यस बिषयमा पनि छलफल गर्न सकिने भन्दै अब कुनै ठेकेदारलाई ठेक्का लगाएर बाटामा कर असुल्ने काम भने बन्द हुने नगर प्रमुख थापाले बताएका छन्।
निर्वाचन ताका नागरिक समक्ष गरेका वाचा पूरा गर्ने कुरामा आफु प्रतिबद्ध रहेको भन्दै उनले आफु पटके कर हटाउने बिषयमा अहिले पनि दृढ रहेको बताए । तर पूर्वाधार उपयोग करलाई पटके करको रुपमा नबुझ्न पनि उनले सबैलाई आग्रह गरेका छन् । नगरपालिकाले सोहि कर यसअघि ठेक्कामार्फत सडकमा नै गी गाडीहरु रोकेर असुली गरिआएका थिए । सडकमा जथाभावी गाडी रोकेर कर असुल गर्दा उतिकै सडक दुर्घटनाको जोखिम पनि हुदैआएको थियो । यसपटक पनि नगरपालिकाले दमकमा चल्ने विद्युतीय सवारीदेखि क्रेन, स्काभेटर,रोलरसम्मका सवारीलाई ६ सय देखि १५ हजार सम्म बार्षिक कर बुझाउन सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।