दमक ,२५ जेठ । झापाको कमल गाउँपालिका ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा आज आयोजना गरिएको महिला लक्षित निशुल्क स्वास्थ्य शिविरमा १७४ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
पालिकाको स्वास्थ्य शाखाले महिला लक्षित आङ खस्ने, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, यौनरोग, भिआइए सम्बन्धि स्वास्थ्य परामर्श तथा नमुना संकलन गरिने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपकप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार महिला लक्षित शिविरमा १७४ जनाको स्वास्थ्य परीक्षण मध्ये १३५ जनाको पाठेघरको मुखको स्कृनिङ्ग गरिएको थियो। त्यस्तै, आङ्ग खस्ने समस्या ७ जनामा रहेको पाइएको थियो । त्यस्तै,शिविरमा महिलाहरुका अन्य स्वास्थ्य समस्याहरुको उपचार र निदानका लागि समेत आवश्यक स्वास्थ्य परीक्षण ,परामर्श समेत प्रदान गरिएको थियो ।
आम्दा अस्पताल दमक र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समेत प्राविधिक सहयोगमा सञ्चालित शिविरको दोश्रो दिन भने शुक्रवार वडा नं ३ स्थित केराधापमा रहेको कञ्चनजंघा आधारभुत बिद्यालयमा र जेठ ३२ गते १ नंम्बर वडा कार्यालय भवनमा शिविर सञ्चालन गरिने जनाइएको छ ।
कमल ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराईको अध्यक्षता भएको शिविरको उद्घाटन गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले गरेकी थिइन् ।
शिविरमा गाउँपालिकाको स्वास्थ्यका कर्मचारीहरू र सम्वन्धित बडाको कर्मचारी , जनप्रतिनिधि, रेडक्रसका प्रतिनिधि तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको उपस्थिति रहेको थियो।