कमलमा विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि छलफल

कमल,२५ जेठ । झापाको कमलमा विपद व्यस्थापन तथा प्रतिकार्य सम्बन्धि सरोकारवालाहरुबीच छलफल भएको छ ।बिहिबार गाउँपालिकाको सभाकक्षमा आयोजित छलफलमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल र रेडक्रस झापाका अधिकृत हरिशरण खडकाले सहजीकरण गरेका छन् ।
छलफलमा पालिकाका जनप्रतिनिधि, कर्मचारीहरु, रेडक्रसकर्मी लगायत सहभागी थिए । छलफलमा स्थानीयस्तरमा बर्षातको मौसमसँगै आउन सक्ने विपद व्यवस्थापन तथा जोखिम न्यूनिकरणका बिषयमा अन्तरक्रिया गरिएको थियो ।
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा स्थानीय तहको भुमिका बिषयक सो छलफलको अध्यक्षता गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । छलफलमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यसहित पालिकाका शाखा प्रमुख तथा प्रतिनिधिहरु तथा वडाध्यक्ष, वडा सदस्यहरु लगायतले स्थानीयस्तरमा रहेका विभिन्न प्रकारका जोखिम र न्यूनिकरण लगायतका बिषयमा गहन छलफल गरेका रेडक्रस सोसाइटी कमल उपशाखा सचिव पारसमणी राईले जानकारी दिए ।
रेडक्रस झापाका सभापति ढकालका अनुसार झापा जिल्ला प्राकृतिक प्रकोपको हिसाबले जोखिममा रहेको जनाउँदै अहिले सम्म रेडक्रस झापाले १५ मध्ये ९ पालिकामा त्यस किसिमको अभिमुखिकरण तथा छलफल सञ्चालन गरिसकेको छ । अन्य थप पालिकामा समेत सोहि किसिमको अभिमुखीकरण सञ्चालन गरिने जनाईएको छ । जिल्लाका ७ वटा पालिका बाढी जोखिमयुक्त मानिएका छन् ।
जिल्लामा रहेको प्राकृतिक विपत्ति मध्ये खोला नदीको बाढीलाई प्रमुख प्राकृतिक प्रकोपका रुपमा लिइएको छ ।
कमलमा २५ सय परिवार बाढीको जोखिममा
रेडक्रस झापाका अनुुसार बाढीका कारण उच्च जोखिममा मानिएको कमलमा २५ सय बढी घरपरिवार जोखिममा रहेका छन् । रेडक्रसले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार कमलका ७ वटा वडाका २५४० घरपरिवार बाढीका कारण जोखिममा रहेका छन् ।
जसअन्तर्गत कमल १ मा ९ सय, कमल ५,६ र ७ मा १ हजार, कमल ३, कमल ३ मा ३४० र कमल २ र ४ वडाका ३ सय घरपरिवार बाढीको उच्च जोखिममा रहेको सभापति ढकालले जनाएका छन् । झापामा २८ वटा नदीखोला मध्ये ८ वटाले भने बर्षायाममा प्रभावित बनाउने गरेको छ । प्रकोप जोखिमको हिसावले यस जिल्ला बाढी पछि सडक दुर्घटना,हात्तीको उपद्रो,चट्याङ,आगलागी र शितलहर मुख्य मानिन्छन् ।

Leave a Reply

Your email address will not be published.