वातावरण दिवसमा दमक जेसीजको वृक्षरोपण

दमक,२२ जेठ । दमक जेसीजले विश्व वातावरण दिवसको अवसर पारेर आज आइतबार दमकमा वृक्षरोपण गरेको छ । दमक ८ बालुवाटारस्थित दमक जेसीजको निर्माणाधीन प्रशिक्षण केन्द्र भवन परिसरमा अमला, टिक , मसला लगायतका प्रजातीका विरुवा रोपिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताए ।
त्यस अवसरमा जेसीजले वातावरण संरक्षणका लागि जनचेतना जगाउँदै स्थानीयबासीहरुलाई वृक्षारोपण र वातावरण संरक्षणका लागि प्रोत्साहन गर्न विभिन्न प्रजातीका विरुवा समेत प्रदान गरेको दमक जेसीजका कोषाध्यक्ष सहदेव भट्टराईले जानकारी दिए । ती विरुवा दमक ३ को वडा कार्यालयले स्थापना गरेको नर्सरीबाट उपलब्ध गराएको बताइएको छ ।
सो कार्यक्रम सरोज ढकालको संयोजकत्वमा तथा दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा स्थानीयको तर्फबाट हेम सुवेदीले धन्यवाद व्यक्त गरेका थिए ।
दमक जेसीजका अध्यक्ष बरालले पूर्व अध्यक्षहरु तथा दाताहरुको सहयोगमा तत्कालै विभिन्न किसिमका सीप सिकाउने प्रशिक्षण केन्द्रको भवन निर्माण कार्यलाई प्रारम्भ गरिने जानकारी दिए ।
सोका लागि दमक जेसीजका पूर्व अध्यक्ष भगवान बस्नेतको संयोजकत्वमा निर्माण समिति गठन गरि काम थालिएको छ भने संस्थाले दाताहरुका अतिरिक्त स्थानीय र प्रदेश सरकारबाट समेत आवश्यक बजेट व्यवस्थापन गरि भवन बनाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.