दमक,२२ जेठ । झापाको कमल गाउँपालिकाका सात वटै वडाहरुले आफ्नै भवनबाट सेवा प्रदान गर्न पाएका छन् ।स्थानीय तह कार्यान्वयनमा आएको ७ बर्षपछि कमल गाउँपालिकाले आफ्नै वडा कार्यालय भवनबाट सेवा शुरु गरेको गाउँपालिकाले जनाएको छ ।
२०७९ को वैशाखमा भएको दोश्रो स्थानीय तहको चुनाव अघि वडा नं ५ र ७ मा नयाँ वडा कार्यालयका आफ्नै भवन बनेका थिए । वडा नं ६ को कार्यालयका रुपमा साविक लखनपुर गाविस कार्यालय रहेको भवननै प्रयोगमा रहेको छ ।पछिल्ला दुई बर्ष यता वडा नं १, २, ३ र ४ ले आफ्नै भवनबाट सेवा प्रदान गर्न शुरु गरेको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
उनका अनुसार कमल गाउँपालिकाका १ र ३ नम्बर वडा कार्यालय औपचारिक रुपमा उद्घाटन भई सञ्चालनमा आएपनि वडा नं २ र ४ का वडा कार्यालय भने औपचारिक रुपमा उदघाटन गरिएका छैनन् ।
भवनको औपचारिक उदघाटन भइनसके पनि गत जेठ ७ गतेदेखिनै २ नम्बर वडा कार्यालयको आफ्नै भवनबाट सहज रुपमा सेवा प्रदान गर्न शुरु गरिएको वडाध्यक्ष अशोक सुब्बाले जानकारी दिए।
गाउँपालिका अध्यक्ष राईले भने, –‘कमलका ७ वटै वडालाई आ–आफ्नो भवनबाट सेवा दिने व्यवस्था मिलाएका छौं अब हामी गाउँपालिकाको प्रशासनिक भवनमा ध्यान दिनेछौं । ’
संघीयता र राज्यपुुनःसंरचनाको अवधारणा अनुसार सबैभन्दा तल्लो तहको स्थानीय सरकारको तल्लो इकाई वडा भएकाले कमल गाउँपालिकाले वडा कार्यालयको आफ्नै भवनलाई प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष राईले बताए ।
यता दमक नगरपालिकाका १० वटा वडा मध्ये ८ वटा वडा कार्यालय आफनै भवनमा सञ्चालनमा छन् । दमक ५ वडा भाडाको घरमा सञ्चालित छ भने वडा न. ७ भने कृषि तथा पशुपंक्षी वजारको प्रशासनिक भवनमा वडा कार्यालय सञ्चालन हुदैआएको वडाअध्यक्ष भिम पौडेलले बताए । ती दुई वडा मध्ये अन्य सवै वडा भने आफनै कार्यालय भवनबाट सञ्चालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए ।