
दमक,१९ जेठ । दमकबाट नेपाली नक्कली नोट र प्रतिवन्धित लागूऔषधसहित एक जना भुटानी शरणार्थी युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ को ३२ बर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।
उनका अनुसार पक्राउ परेका बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजे पक्राउ गरिएको हो ।
बानियाँको साथबाट ४७.५३० ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बानियालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर जिल्ला अदालत झापामा म्याद थप गरि मुद्धा चलाईएको प्रनाउ थापाले वताए ।