छात्रालाई क्याम्पसमै निशुल्क सेनिटरी प्याड

दमक ,२० जेठ । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमाम छात्राहरुको सुविधाका लागि निशुल्क सेनिटरी प्याडको व्यवस्था गरेको छ ।दमक नगरपालिकाको सहयोग तथा स्वतन्त्र बिद्यार्थी युनियनको सक्रियतामा छात्राहरुका लागि सेनिटरी प्याड स्टोर मेसिन र दुई थान डिस्पोज मेसिन उपलव्ध गराएको हो ।
क्याम्पसमा आइतबार आयोजित संक्षिप्त कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख रामकुमार थापाले क्याम्पसलाई एक थान प्याड स्टोर मेसिन र दुई थान डिस्पोज मेसिन हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख थापाले बिद्यार्थीहरुको सहुलियत र सुविधाका लागि आवश्यक सहयोग गर्न नगरपालिका सधैं तयार रहेको उल्लेख गरे । उनले आगामी दिनमा बिद्यार्थीहरुको सुविधालाई मध्यनजर गर्दै थप सहयोगका कार्यक्रमहरु ल्याइने पनि प्रतिबद्धता जनाए ।
दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा अध्यक्ष भण्डारीले अधिकतम सुविधा सम्पन्न क्याम्पसको रुपमा दमक बहुमुखी क्याम्पसलाई बिकास गरेर लैजाने योजना रहेको बताए ।
अध्यक्ष भण्डारीले क्याम्पसमा कम्प्युटर सिकाईका लागि हाल २० वटा कम्प्युटर उपलब्ध गराइएको र आगामी दिनमा बिद्यार्थीहरुको आवश्यकता र मागलाई ध्यानमा राखेर थप कम्प्युटर उपलब्ध गराइने पनि बताए ।
सो अवसरमा क्याम्पस प्रमुख यज्ञराज गिरी, सञ्चालक समितिका पूर्व अध्यक्षद्धय सुरेश सुब्बा, देवी दाहाल, सञ्चालक समिति सदस्य महेन्द्रकुमारी लिम्बू , स्वतन्त्र बिद्यार्थी युनियनका सचिव दिपक लिम्बू लगायत क्याम्पसका प्राध्यापक, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो मेसिन जडान गरेपछि छात्राहरुले महिनावारीका समयमा प्याड किन्न तथा बोक्न पर्ने जस्ता समस्या हल हुने क्याम्पस प्रमुख गिरीले बताए । प्याड निकाल्न मेसिनमा राखिएका रु १ का सिक्का मेसिनमा हालेर चाहिएअनुसार प्याड झिक्न सक्ने उनको भनाई छ । लगाएको प्याड फाल्नका लागि क्याम्पसमै दुई वटा डिस्पोज मेसिन जडान गरिएको उनले बताए ।
दमक नगरपालिकाले यसअघि दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा समेत छात्राहरुका लागि यसैकिसिमको सेनिटरी प्याड स्टोर मेसीनसहित डिस्पोज मेसीन समेत उपलव्ध गराएको नगर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.