
भद्रपुर,१८ जेठ । नेपाल बार एशोसिएसन झापा र मातहतमा रहेको मानव अधिकार तथा जन सरोकार समितिले आमनागरिकको बाँच्न पाउने मौलिक हक अधिकारको सुनिश्चितता गर्न नेपाल सरकारसंग तत्काल कोरोना खोपको व्यवस्थापन गर्न माग गरेका छन् ।
मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय , प्रादेशिक तथा स्थानीय ३ वटै तहका सरकारले मानवको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्दै महामारीबाट बाँच्न र बचाउन तत्काल खोपको व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन् ।
कोभिड महामारीको चपेटामा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको सांघातिक आक्रमण, खाद्य तथा स्वास्थ्य सामग्रीको उपलब्धतामा हुने गरेको कृत्रिम अभाव तथा कालोबजारी जस्ता बिषयलाई तत्काल नियन्त्रण गर्नसमेत एशोसिएसन र जनसरोकार समितिले माग गरेका छन् ।
एशोसिएसनका अध्यक्ष हरिप्रसाद अधिकारी तथा सरोकार समिति संयोजक टंकप्रसाद दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आमनागरिकलाई सरकारले तोकेको स्वास्थ्य सावधानीसम्बन्धी मापदण्ड पालना गर्न अनुरोध समेत गरिएको छ । विज्ञप्तिमा सरकारले विपति आउनु अगावै औषधी, खोप, अक्सिजन तथा भेन्टिलेटरजस्ता अतिआवश्यकीय वस्तुहरुको समयमै जोहो नगर्नाले आमनागरिकको आधारभूत स्वास्थ्य र बाँच्न पाउने मौलिक हकप्रति गम्भीर आघात पुगेको उल्लेख छ ।
सरकारले कोभिड १९ सम्बन्धमा पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्न सरकार तथा सरोकारवाला अस्पतालहरुलाई झापा वार एशोसिएसनले आग्रह समेत गरेको छ ।